सन्दीप जोरा र इशान पाण्डे पाकिस्तानविरुद्धको म्याचमा उपलब्ध

2.1k Shares

काठमाडौं । एसीसी राइजिङ स्टार्स कपअन्तरगत आफ्नो समूह चरणको अन्तिम म्याच आज नेपालले पाकिस्तानविरुद्ध खेल्दै छ । आजको म्याचमा नेपालको प्लेइङ ११ मा केही परिवर्तन हुने सम्भावना छ ।
नेपाल प्रिमियर लिगको प्लेअफसँग तालीका जुधेकाले नेपाली टिममा केही प्रमुख खेलाडीहरू छुटेका थिए । स्क्वाडमा परेकामध्ये पनि केही खेलाडीहरू दुई म्याचमा उपलब्ध हुन सकेनन् । आजको म्याचअघि भने नेपालको १५ सदस्यीय स्क्वाड पूर्ण भएको छ ।
एनपीएलको फाइनल खेलेका सन्दीप जोरा र डा। ईशान पाण्डे आजको म्याचमा उपलब्ध भएका हुन् । उनीहरू एनपीएल फाइनलको भोलिपल्ट आइतबार कतार गएको नेपाल क्रिकेट संघ ९क्यान० का कोषाध्यक्ष पदम खड्काले जानकारी दिए ।
जोरा र ईशानको उपलब्धतासँगै नेपालको प्लेइङ ११ मा पर्ने सम्भावना छ । यसअघि दुई म्याचमा ओपनिङ गरेका अर्जुन कुमाल बाहिरिन सक्ने छन् । उनी दुवै म्याचमा चलेका थिएनन् ।
उनको स्थानमा मयन यादव वा लोकेश बमले ओपनिङमा कुशल भुर्तेललाई साथ दिनुपर्ने छ । यस्तै यूएईविरुद्ध तेस्रो स्थानमा खेलेका देव खनालले पनि ईशान पाण्डेका लागि ठाउँ खाली गर्नुपर्ने हुन सक्छ ।
नेपाल पहिलो म्याचमा भारतविरुद्ध २६ रनमा अलआउट भएर लज्जास्पद पराजय भोगेको थियो । दोस्रो म्याचमा यूएई विरुद्ध ६ विकेटको जित हासिल गरे पनि नेपालको सेमिफाइनल सम्भावना कमजोर छ ।
आज पाकिस्तानविरुद्ध फराकिलो जित र अन्य नतिजाहरू अनुकूल आएमा मात्रै नेपालको सम्भावना हुन सक्छ । यद्यपि पाकिस्तानको बलियो टोलीलाई कडा टक्कर दिएर भारतविरुद्धको नाजुक प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमै बिगारेको छवि सच्याउने अवसर नेपालसँग छ ।

सम्बन्धित समाचार