सगरमाथा आधार शिविरमा आरोहीको भीडभाड र चहलपहल

9.8k Shares

काठमाण्डौ – चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्नुभयो । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट)हरु भिडियोमा देखिन्छ ।

शिविरको दृश्य हेर्दा लाग्छ आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको रूपमा परिणत भएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका छन् । आरोहीको भीडभाड र चहल पहलले बेग्लै रौनकता छाएको छ ।

‘सगरमाथा आधार शिविर सानो संसारै जस्तो छ, विश्वभरिका मानिस जम्मा भएका छन्’, सगरमाथा आधार शिविरमा रहनुभएका पर्वतारोही लाक्पा शेर्पाले भन्नुभयो, ‘आधार शिविर विश्वको कुनै एउटा गाउँजस्तो भएको छ । उल्लासमय वातावरण छ ।’ ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएका कामीरिता आफ्नै कीर्तिमानी तोडेर ३१औँ आरोहणका लागि सगरमाथा पुग्नुभएको हो । आधारशिविर रङ्गीचङ्गी पाल र आश्रयस्थलले बेहुली झै सिँगारिएको छ ।

समुद्री सतहबाट पाँच हजार तीन सय ६४ मिटर उचाइमा रहेको आधारशिविर क्षेत्रमा ‘लाउन्ड्री’, ‘क्याफे’, ‘बार’ आदिको व्यवस्थापन गरिएको छ । पाँच सय भन्दा बढी पाल टाँगिएका छन् । आरोही, सहयोगी, कुक, किचन हेल्पर गरी एक हजार तीन सयभन्दा बढी आधार शिविरमा छन् । एटके एक्सपीडिसन कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले विभिन्न कम्पनीले आरोहीको खाना तथा बास व्यवस्थापनका लागि बनाइएका रङ्गी विरङ्गी पालका सजावटले आधारशिविर रमाइलो देखिएको बताउनुभयो ।

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पा सगरमाथा क्षेत्रमा आरोहीको ओइरोले बेग्लै माहोल बनेको बताउनुहुन्छ । ‘सगरमाथा आरोहण गर्न विभिन्न मुलुकबाट जम्मा भएका भीडले विश्वको ध्यान खिचिरहेको छ’, उहाँले भन्नुभयो ।

केही दिनयता सामाजिक सञ्जालमा चाँदी झैँ टल्किएका सगरमाथासहितका हिमालका तस्बिर र सुन्दरगाउँको भझल्को दिने सगरमाथा आधारशिविरले संसारको ध्यान खिचेको छ ।  यसले नेपालको साहसिक पर्यटनलाई विश्वबजारमा परिचय दिलाउन मद्दत पुगेको छ ।

लुक्लादेखि सगरमाथा आधार शिविरसम्म पर्वतारोही, पदयात्री र सहयोगीहरुको लामो लस्कर देखिन्छ । सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणका लागि विभिन्न मुलुकबाट आएका आरोहीको जमघटले आधार शिविरको वातावरण उल्लासमय बनेको बताउनुहुन्छ ।

‘वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि आइरहेका आरोहीले नयाँ माहोल बनेको छ, यसले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्छ’, उहाँले भन्नुभयो ।

सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) जिम्मेवारी एटके कम्पनीले पाएको छ । झन्डै ९० प्रतिशत आरोही सगरमाथा आधार शिविर पुगेको प्रबन्ध निर्देशक शेर्पाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार