जलविद्युत् आयोजनाले पानी नछाड्दा नदी र खोला सुक्दै

6.5k Shares

काठमाण्डाै – जलविद्युत् आयोजनाहरूले नियमानुसार पानी नछाड्दा खोला तथा नदी सुकेपछि समस्या बढेको स्थानीय बासिन्दाले बताएका छन् । आयोजनाहरूले संरक्षण क्षेत्रमा कम्तीमा २० प्रतिशत र अन्यत्र कम्तीमा १० प्रतिशत पानी नदी प्रवाहमै छाड्नुपर्ने नियम भए पनि हिउँदमा खोला पुरै सुकाइदिने गरेका स्थानीय बासिन्दाको गुनासो छ ।

सोलुखुम्बुको भकाञ्जेका सन्तमान थामी जलविद्युत आयोजनाले लिखुखोला पूरै सुकाइदिँदा गाईवस्तुले पानी खानसमेत नपाएका बताउनुहुन्छ । यस्तै पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ का अध्यक्ष उपेन्द्र लावती पनि जलविद्युत् आयोजनाले हेवाखोला सुकाइदिँदा घाटमा शव जलाउनसमेत नपाएको गुनासाे गर्नुभयाे । यसैगरी कास्कीको मादी गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङ पनि जलविद्युत् आयोजनाले मादी नदी पूरै सुकाउँदा जनावरले खाने पानीसमेत बाँकी नरहेको बताउनुहुन्छ ।

सुक्खा बढेसँगै सबैजसो जलविद्युत् आयोजनाहरूले खोला पूरै सुकाएर सुरुङ वा पाइपमा पानी पठाएका छन् । सदियौंदेखि बगिरहेको ठाउँमा खोला सुक्दा त्यहाँको जैविक विविधतामा असर गर्न थालेको छ । यस्तै सिँचाइ, खानेपानीलगायतका समस्यासँगै धार्मिक तथा सांस्कृतिक समस्या पनि देखिन थालेका छन् । खोला सुक्दा माछालगायत प्रजाति पूरै मासिएका छन् । शव जलाउनेलगायत सांस्कृतिक काममा पनि असर पुगेको छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डाक्टर मुकेशराज काफ्ले जलविद्युत‍्को विकाससँगै प्रकृति र मानवीय मूल्य मान्यतामा परेको असर चिन्ताजनक रहेको बताउनुहुन्छ । वातावरण अनुकूल विकासको पर्याय मानिएको नवीकरणीय ऊर्जाको प्रमुख स्रोत जलविद्युत् आयोजनाका कारण परेको प्रभावबारे बहस आवश्यक रहेको उहाँको भनाइ छ ।

सम्बन्धित समाचार