म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ मा रहेको बयली ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार ४५० मिटर उचाइमा रहेको बयली पूर्वाधार र प्रचारप्रसारको पर्खाइमा छ ।
बयलीस्थित सामुदायिक लजका सञ्चालक लोकबहादुर पाइजाले हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल अवलोकनका साथै एकान्त वातावरणमा रमाउन सकिने यो ठाउँमा न्यून मात्रामा पर्यटक आउने गरेको बताए ।
‘यहाँसम्म आउने व्यवस्थित पदमार्ग निर्माण र आकर्षणको प्रचारप्रसार नहुँदा पर्याप्त पर्यटक आगमन हुनसकेको छैन’, उनले भने, ‘बयलीलाई व्यवस्थित गर्न सक्ने हो भने अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ ।’
अन्नपूर्ण गाउँपालिका– ५ शिख, पाउद्धार, स्वाँत बासिन्दाहरूको अगुवाइमा पर्यटकको सुविधा, गाउँका विद्यालय र स्वास्थ्य संस्था सञ्चालनका लागि स्थानीय स्रोत जुटाउन १५ वर्षदेखि बयली, ढाडखर्क र खोपारामा सामुदायिक लज सञ्चालन भएको छ ।
बयलीको तलतिर गुराँस र सल्लाको जङ्गल छ । माथिल्लो क्षेत्रको पाखोमा घरपालुवा जनावरको बर्खायामको चरन क्षेत्र (बुकी) छ । यहाँ चौरीपालन गरिएको छ । बर्खायाममा भेडाबाख्रा र गाईभैँसीको गोठ पनि बयलीमा राख्ने गरिन्छ ।
पश्चिम फर्किएको पाखोमा अवस्थित बयलीको पृष्ठभूमिमा धवलागिरि ‘रेञ्ज’का हिमाल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । म्याग्दीका पहाड र ग्रामीण बस्ती पनि देखिन्छ । बस्तीबाट टाढा रहेको बयलीको वातावरण शान्त र रमणीय छ । चौँरीगोठ बयलीको थप आकर्षण हो ।