किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी

9k Shares

अर्घाखाँची– जिल्लाको मालारानीमा किसानहरूले व्यावसायिक रूपमा आधुनिक प्रविधिबाट कृषि र पशुपालन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । आफ्नै गाउँमा पसिना बगाएर स्वरोजगारसँगै आर्थिक आम्दानी गर्न सकिन्छ भन्ने सोचका साथ यहाँका किसान व्यावसायिक कृषि र पशुपालनमा लागेका हुन् । 

परम्परागत बाख्रापालन गर्दै आएका किसानलाई मालारानी गाउँपालिकाले मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सञ्चालन गरेर आधुनिक र प्रविधिमैत्री बनाएको छ । मालारानी–६ गौराडाँडाका किसान प्रेमबहादुर घर्ती मगरले विदेशमा रोजगारीबाट फर्किएर आधुनिक प्रविधिबाट बाख्रापालन सुरु गरेको बताए ।

स्वदेशमा केही गर्नुपर्छ र गाउँमा पनि कृषि र पशुपालनबाट जीविकोपार्जन गर्न सकिन्छ भन्ने मान्यताका साथ आधुनिक खोर निर्माण गरेर बाख्रापालन सुरु गरेको उनले उल्लेख गरे। गाउँपालिकाले हेफरको साझेदारीमा बाख्रापालनमा विभिन्न किसिमको सहयोग गरेपछि सजिलो भएको उनको भनाइ छ ।

मालारानी  गाउँपालिका र हेफर परियोजना नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्र, नेपालको सहजीकरणमा मालारानी गाउँपालिकामा सञ्चालन भएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना यहाँका नौ वटै वडामा सञ्चालन भएका गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले जानकारी दिए । 

एक हजार ३५० महिला र एक सय ५० युवा गरी एक हजार ५०० परिवारलाई ६० वटा उद्यमी समूहमा आबद्ध गरी सहकारीमा सङ्गठित गर्दै सामाजिक पुँजीको अभिवृद्धि गर्ने उद्देश्य राखिएको गाउँपालिकाले जनाएको छ । 

सम्बन्धित समाचार