वीरगन्जको घटनामा संलग्न दोषीमाथि कारबाही गर्न निर्देशन

8.3k Shares

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगन्जको सद्भाव खल्बल्याउने घटनामा संलग्न दोषीमाथि छानबिन गरी कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएका छन् । 

उनले आज एक विज्ञप्ति जारी गरी धार्मिक, सांस्कृतिक तथा जातीय विविधताबीच आपसी सम्मान र भाइचाराको भावना प्रकट गर्नु सबै नागरिकको कर्तव्य भएको उल्लेख गर्दै समाजमा शान्ति र सहिष्णुता कायम राख्न सबै पक्षबाट संयम र समझदारीको आवश्यकता रहेको उल्लेख गरेका छन् । 

मन्त्री गुप्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा आपसी सद्भाव भङ्ग गर्ने कार्य दुःखद र चिन्ताजनक हो, नागरिकहरूले एकअर्काका धार्मिक विश्वास र आस्थाप्रति सम्मान जनाउनु सहअस्तित्वको आधार हो ।’ 

झडपपछिको अवस्थालाई ध्यानमा राख्दै मन्त्री गुप्ताले निरन्तर स्थानीय प्रशासन र सुरक्षा निकायसँग सम्पर्कमा गरिरहेको उल्लेख गरे। उनले घटनाका दोषीहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशनसमेत दिए। 

सम्बन्धित समाचार