काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरुलाई गलाउँदै लगेका छन् । जबरालाई राजीनामाका लागि वाध्य पार्न सबै न्यायाधीशहरु विद्रोहमा उत्रिएपनि ब्याक हुन थालेका छन् । उनीहरु धमाधम इजलासमा फर्किएका छन् । जबराले कुनै हालतमा राजीनामा नदिने अडान लिएर नयायाधीशहरुलाई गलाएका हुन् । उनले संविधानभन्दा बाहिर आफू पनि जान नसक्ने भएकाले कसैले भन्दैमा राजीनामा नदिने स्पष्ट पारिसकेका छन् । यसकारण पनि न्यायाधीशहरु ब्याक हुन थालेका हुन् ।
जबराले अदालतको काम सुचारु गर्न कडा रुपमा प्रस्तुत हुने चेतावनी पनि दिइकसेका छन् । कि इजलासमा फर्कन कि राजीनामा दिन सन्देश समेत पठाएको बुझिएको छ । जबराले तिहारलगत्तै अदालत खुलेपछि इजलास तोकेर अदालतको काम कारबाहीलाई सुचारु गर्न थालेका हुन् ।
सोमबार प्रधानन्यायाधीश जबराले इजलास तोकेका न्यायाधीशहरु कुमार चुँडाल र बमकुमार श्रेष्ठ दुवै एकल इजलासमा बसे । विश्वम्भर प्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास बस्यो । आठजना न्यायाधीश इजलासमा फर्किनुलाई अर्थपूर्ण मानिएको छ । मङ्गलबार पनि केही न्यायाधीशहरु इजलासमा बसेका थिए ।
सर्वोच्च अदालतका २० न्यायाधीशमध्ये झण्डै आधा संख्याका न्यायाधीश इजलासमा फर्किएपछि प्रधानन्यायाधीश जबरामाथि राजीनामाको दबाब फितलो हुँदै गइसकेको छ । इजलासमा बस्ने कि नबस्ने भन्नेबारे विद्रोहमा उत्रिएका न्यायाधीशहरुलाई स्पष्ट पार्न प्रधानन्यायाधीश जबराले आग्रह गर्ने बुझिएको छ । त्यसै अनुसार उनले भावी कदम चाल्ने भएको निकट स्रोतले जानकारी दिएको छ । उनले त्यसपछि कठोर निर्णय लिने तयारी समेत गरेको बुझिएको छ ।
विश्वस्त स्रोतका अनुसार विगतमा आफूलाई मार्ग प्रशस्त गर्न भनेका न्यायाधीशहरुलाई प्रधानन्यायाधीश जबराले इजलास नबस्ने भए मार्ग प्रशस्त गर्न भन्ने तयारी समेत गरेका छन् । अब कि राजीनामा दिनुपर्ने कि इजलासमा फर्कनुपर्ने वाध्यतामा विद्रोहमा उत्रिएमा न्यायाधीशहरु परेका छन् । तिहार अगाडि नै नेपाली काँग्रेस निकट कानुन व्यवसायीको संगठन डिएलए र नेकपा एमाले निकट कानुन व्यवसायीको संगठन पीपीएलएले विज्ञप्तिमार्फत् सर्वोच्च अदालतका न्यायाधीशहरु इजलास बस्न नमान्नु अशोभनीय र अस्वभाविक भनेलगत्तै फरक सन्देश गएको थियो । प्रधानन्यायाधीश जबराको पक्षमा काँग्रेस र एमाले देखिएको स्पष्ट सन्देश गएको थियो ।