नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छ : अध्यक्ष दाहाल

8.1k Shares

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्ने बताएका छन् । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित नेपाल–चीन आर्थिक तथा व्यापार सम्मेलनको अवसरमा उनले चीनले आर्थिक, सामाजिक र प्राविधिक क्षेत्रमा चमत्कारिक प्रगति हासिल गरेको गरेको  र नेपालले यसबाट लाभ लिन चाहेको बताए ।

अध्यक्ष दाहालले नेपालमा संविधानसभाबाट जननिर्वाचित प्रतिनिधिहरूले समानुपातिक, समावेशी, धर्मनिरपेक्षतासहितको समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउन सफल भएको उल्लेख गर्दै अब विकासमा प्रगति गर्न सोहीअनुसारको सहयोगको अपेक्षा रहेको बताए ।

केही समयअघि मात्रै सङ्घीय संसद्का दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी कानुन सर्वसम्मत रूपमा पारित गरेको उनको भनाइ छ ।

‘विश्वभरिबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गबाट टुङ्ग्याउन सफल भएकामा प्रशंसा भइरहेको छ, अब समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रूपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्नेबाहेक अरू विकल्प छैन । यसमा चीन सरकारबाट विगतमा झैँ अझै सहयोग र समर्थन हुनेछ भन्ने मैले विश्वास लिएको छु’, अध्यक्ष दाहालले भने । 

सम्बन्धित समाचार