बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका–२ रानीपुरमा गएको चैत २४ गतेदेखि भएको खो-खो लिग चरणको खेल प्रतियोगिता सम्पन्न भएको छ ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, नाराका साथ नेपालमै पहिलो पटक बर्दियाको ठाकुरबाबा नगरपालिकामा खो-खो लिग चरणको आयोजना भएको थियो ।
पाँच दिनसम्म सञ्चालित प्रथम नेपाल खो-खो लिगमा ५ टिमबीच प्रतिस्पर्धा भएको थियो । लिग खेलमा नेचर नेष्ट टाइगर्स (ठाकुरबाबा) प्रथम तथा विकासप्रेमी ब्ल्याक बक (बर्दिया) द्वितीय र कन्चन गैँडहवा (रुपन्देही) तृतीय हुन सफल भएका छन् ।
प्रथम हुन सफल नेचर नेष्ट टाइगर्सले शिल्डसहित नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ भने दोस्रो हुन सफल विकासप्रेमी ब्ल्याक बक (बर्दिया) ले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको खो-खो सङ्घका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिका खो-खो खेलका लागि उर्बर भूमि मानिन्छ । २०७० सालदेखि ठाकुरबाबा नगरपालिकामा खो-खो खेलको प्रवर्द्धन गर्न शुरू गरिएको थियो ।