बागलुङ । नेपालमा स्वास्थ्य बिमा लागू भएको नौ वर्ष पुगेको छ । हुनेहरुले नहुनेका लागि योगदान गर्ने तथा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्ने लक्ष्यसहित थालिएको बिमा अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने सरोकारवालाले जोड दिएका छन् ।
विशेषगरी ५ जनासम्मको परिवारले ३ हजार ५ सय रुपियाँ तिरेर वर्षभरका लागि १ लाख रुपियाँसम्मको औषधी उपचार निःशुल्क गर्न पाउने व्यवस्थाका लागि बिमा अभियान थालिएको हो ।
यो अभियानले वर्षभरी उपचारमा धाउनुपर्ने, विपन्न नागरिक तथा दीर्घरोगीका लागि सहयोगी बन्दैआएको हो । २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य बिमा सुरु भएको थियो । तत्कालीन सरकारले आम नागरिकलाई संविधानको मर्म अनुसार निःशुल्क स्वास्थ्य सेवा दिने अभियानमा बिमा कार्यक्रम जोडेको थियो । पहिलो चरणमा इलाम, बागलुङ र कैलालीमा सुरु भएपछि हाल देशभर यो कार्यक्रम लागू भएको छ ।