११ वर्षपछि आँखा देख्न पाएका दिदीभाई भन्छन् : शिविरले नयाँ जीवन दियो

10k Shares

काठमाडौं– दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् ।

यसरी नै ११ वर्ष बिताएका उनी गाउँमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापश्चात् छ्याङ्गै आँखा देखेपछि खुसीले दङ्ग भएका छन् ।

‘जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेपछि घिसङगाउँमा नै सञ्चालन भएको आँखा शिविरबाट नयाँ जीवन पाएकामा धेरै खुसी छु’, उनले भने, ‘आँखा देख्ने भएपछि अहिले गाउँघर, छरछिमेक, साथीभाइ र डाँडापाखा सबै देख्न र हेर्न पाएकामा खुसी छु ।’ प्रकाशमात्र होइन, दिदी सुस्मिता घिसिङको पनि अवस्था उस्तै थियो । गाउँमै कक्षा ६ मा अध्ययनरत उनले धेरै नजिकको मात्रै देख्ने र टाढाको कुनै पनि वस्तु देख्न नसक्ने अवस्थामा रहेको बेला आँखा शिविरबाट नयाँ जीवन पाएको बताइन् । दिउँसो जसोतसो हिँडडुल गरे पनि राति अरूको सहारामा हिँड्नुपर्ने बाध्यता रहेकामा शल्यक्रियपश्चात राम्रोसँग देख्न पाएको उनले बताइन् । जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेको थियो ।

‘देख्न ठप्पै भएपछि बेलाबखत आँखा उपचारका लागि जाऊँ भन्ने कुरा आए पनि खर्च अभावका कारण हामीले उपचार गर्न पाएका थिएनौँ’, सुस्मिताले भनिन्, ‘गाउँमा आएको शिविरमा उपचारपछि बल्ल सबै चिज देख्न पाएका छु ।’दुई जना मात्र होइन, गाउँमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार तीन सय ६ जनाले घर आँगनमा नै उपचार सेवा पाएका छन् ।

तिलगङ्गा ख्वप आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले शिविरमा आँखा परीक्षणबाट छनोट भएका मोतियविन्दुका बिरामीको घर्तिछाप स्वास्थ्य चौकीमा डा सुदीप राजभण्डारीको नेतृत्वमा एक सय ३५ जनाको शल्यक्रिया गरेको बताए । यस क्रममा शल्यक्रियासहित आवश्यक औषधि र चश्मालगायत सामग्री निःशुल्क वितरण गरिएको थियो । शिविरमा १३ वर्षदेखि १०० वर्षसम्मका नागरिकको आँखा परीक्षण गरिएको थियो ।

सम्बन्धित समाचार