महेन्द्रनगर– सीताको जन्मभूमि नगरी जनकपुरधाममा आज रामनवमी पर्व धूमधामका साथ मनाइँदै छ । भगवान् रामको जन्म चैत्रशुक्ल नवमी तिथिमा भएको स्मरणमा आज रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ ।
शनिबारदेखि भारतको विभिन्न भेगका साथै नेपालको विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु भक्तजनासहित साधुसन्त रामनवमी पर्व मनाउन जनकपुरधाममा आएका छन् । मर्यादा पुरुषोत्तम रामको जन्मजयन्तीका अवसरमा आज यहाँ रामनवमी महोत्सव आयोजना गरिएको छ ।
रामको प्रेमभूमि र सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राममन्दिरमा आयोजित महोत्सवमा नेपाल र भारतका साधुसन्तसहित श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्वले जानकारी दिए ।
उनका अनुसार मन्दिर परिसरमा श्रद्धालुद्वारा भजनकीर्तनका साथै मिथिलाञ्चलमा जन्मसंस्कारमा गाइने गीतले रामको जन्मोत्सवमा झैँ अनुभूति भइरहेको छ ।