गण्डकी विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस

7.7k Shares

पोखरा– गण्डकी विश्वविद्यालयको कुलपति छनोट समितिले तीन जनाको नाम सरकारलाई सिफारिस गरेको छ । तीमध्ये एक जनालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले नियुक्तिको निर्णय गर्ने छ ।

विश्वविद्यालय न्यायिक परिषद् अध्यक्ष समेत रहेका  छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्य द्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यायिक परिषद् सदस्य डा यमुना घलेले बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई तीन जनाको नाम समावेश गरिएको बन्द खाममा हस्तान्तरण गरेका हुन् । 

प्रस्तुतीकरण र अन्तर्वार्ताबाट छानिएका तीन जनाको नाम सिफारिस गरिएकोमा अहिलेसम्म सार्वजनिक भइसकेको छैन ।  २ समूह बनाएर १९ र २० गते प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो । ७ जनाको आवेदन परेको भए पनि ५ जनाको दरखास्त स्वीकृत भएको थियो । 

स्वीकृत उम्मेदवारहरूमा प्राडा इन्द्रप्रसाद तिवारी (पोखरा ३१, कास्की), प्राडा कुसुमाकर न्यौपाने (पैयुँ ६, पर्वत), प्राडा नवराज देवकोटा ( सिरानचोक ४, गोरखा), प्राडा विश्वकल्याण पराजुली (पोखरा १, कास्की) र प्राडा सरोज कोइराला (पोखरा ५, कास्की) छन् । यी पाच जनामध्येबाट तीन जनाको नाम सिफारिस भएको छ ।

विश्वविद्यालयको कुलपति सिफारिस सम्बन्धी कार्यविधि, २०८१ को दफा ९ अनुसार, कुलपति पदका लागि आवेदन दिएका र स्वीकृति पाएका उम्मेदवारले अब प्रस्तुतीकरण र अन्तर्वार्ताका चरणहरू पार गर्नुपर्छ । ५ जनाले यी चरण पार गरेपछि बुधबार रातिसम्म काम गरेर समितिले नाम सिफारिस गरेको हो । 

सम्बन्धित समाचार