हात्तीको आक्रमणबाट माउतेको मृत्यु

9.9k Shares

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जको खड्गवार हात्तीसारमा गणेशगज नामको हात्तीले आक्रमण गर्दा हात्तीको स्याहारमा खटिएका माउतेको मृत्यु भएको छ । 

बर्दिया ठाकुरबाबा नगरपालिका–९ घर भई बाँके राष्ट्रिय निकुञ्जको फणित पदमा कार्यरत अन्दाजी ४५ वर्षका आशाराम थारुको घटनास्थलमै मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताउनुभयो । 

उहाँका अनुसार खड्वार हात्तीसारमा बुधवार राती घाँस, दाना हाल्ने क्रममा १८ वर्षको गणेशगज नामक हात्तीले थारुलाई आक्रमण गरेको हो । वरिष्ठ संरक्षण अधिकृत कँडेलले भन्नुभयो–‘हात्तीले पहिला सूँडले हानेर माउतेलाई पछार्‍यो, त्यसपछि किचेर मार्‍यो ।’ 

बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार थारुले २०७३ सालदेखि खड्गवारमा उक्त हात्तीको स्याहार गर्दै आउनु भएको थियो । बाँकेमा २०७३ सालमा यिनै थारुले गणेशगजलाई बर्दियाबाट ल्याएर आउनु भएको थियो । 

‘हात्तीलाई मात चढ्यो भने आक्रमण गर्छ, केही दिन देखी हात्तीको मात चढेको सङ्केत देखिरहेको थियो,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलले थप्नुभयो ‘मात चढेपछि रिसाउने र आक्रमण गर्ने सम्भावना हुन्छ ।’ 

हात्तीको आक्रमणबाट मृत्यु भएका थारुको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उहाँको शव पोस्टमार्टम पश्चात् परिवारलाई बुझाउने प्रहरीले जनाएको छ । 

माउते थारुलाई आक्रमण गर्ने हात्तीलाई अहिले नियन्त्रणमा राखिएको बाँके निकुञ्जले जनाएको छ । ‘हात्तीमा मात चढेको हुँदा यसलाई कन्ट्रोल गरेर मात्रै राख्न सक्छौँ,’ संरक्षण अधिकृत कँडेलले भन्नुभयो ।  गणेशगजले यसअघि पनि माउतेलाई आक्रमण गरेको तर त्यस बेला उनी जोगिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । 

सम्बन्धित समाचार