पराशर मार्गको काम सुस्त

10k Shares

तनहुँ । विश्व बैंककाे अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गको स्तरोन्नतिको काम सुस्त गतिमा भएको छ । समय सकिन साढे तीन महिना बाँकी रहँदा भौतिक प्रगति १४ प्रतिशत मात्रै छ ।

गत जेठ महिनादेखि सुरु भएको सडकको स्तरोन्नतिको काम सुस्त भएपछि गति बढाउन नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । पटकपटक अनुगमन गरेर छिटो सम्पन्न गर्न निर्देशन दिएपछि हाल कामदारको सङ्ख्या निर्माण व्यवसायीले बढाएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । 

विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत चार वडा जोड्ने पराशर मार्ग स्तरोन्नतिको काम भइरहेकोमा हालसम्म भौतिक प्रगति १४ प्रतिशत मात्रै रहेको व्यास नगरपालिकाका सिनियर डिभिजन इन्जिनियर डा. राजु पौडेलले जानकारी दिनुभयो । 

पौडेलले भन्नुभयो, "यही गतिमा काम भएमा असार मसान्त सम्ममा आधा काम पुरा हुने देखिएको छ, काम छिटो पुरा गर्न पत्रचार गरेका छौं ।" व्यास नगरपालिको ७, ९, १० र ११ गरि चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण हुन लागेको डा. पौडेलले जानकारी दिनुभयो । 

बुल्दीखोला-बेलटारी-फराकचौर-अधेरीभञ्ज्याङ-कुमालगाउँ-समता स्कूल-कलेस्ती सडक जोडिने उक्त खण्डमा १० दशमलव ५५ किलोमिटर दूरी कालोपत्र हुनेछ । उक्त सडक स्तरोन्नतिका लागि गत वैशाख १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

सडक स्तरोन्नतिका लागि रु ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि गत विसं २०८० पुस २६ गते रु ५२ करोड ७८ लाख ३० हजार चार सय २७ को ठेक्का आह्वान भएको थियो । 

काम ढिलो हुँदा स्थानीयलाई धुलोले सास्ती दिएको सो सडकका उपभोक्ता व्यास नगरपालिका–११ पोल्याङ निवासी लोकराज सेढाँईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार