६ महिनादेखि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन

8.3k Shares

तनहुँ। तनहुँ कारागार ६ महिना अघि देखि स्वास्थ्यकर्मीविहीन भएको छ । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । 

स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि अर्को व्यवस्था नहुँदा उपचार गर्न सकस भएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । कारागारमा दिर्घ रोगीहरु धेरै भएकोले निकै सास्ती भएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य सहायक बोहोरा थप अध्ययन समेत गर्नेगरी असोज १ गते शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकु गएपछि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा उपचारमा समस्या भएको अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो,‘ कारागारका कैदीबन्दी बिरामी हुँदा प्रादेशिक अस्पताल दमौली  तथा निजी स्वास्थ्य क्लिनिकमा लैजानु पर्दा सास्ती भएको छ ।’ 

अधिकारीका अनुसार कारागारको 'ए' र 'ब' बल्कमा गरी ४३ जना बिरामी छन् । 'ए' बल्कमा उच्च रक्तचापका सात, हेपाटाइटिस ‘सी’ एक, निमोनियाको एक, नशा सम्बन्धि एक, मानसिक स्वास्थ्य सम्बन्धि एक, एचआईभी एड्स सम्बन्धि एक गरी १४ जना बिरामी छन् । त्यस्तै बि बल्कमा उच्च रक्तचापका १६, मानसिक सम्बन्धि चार, मधुमेहका चार, मुटु सम्बन्धि दुई, एचआई भी एड्स एक, छाहारे एक र थाइराईटको एक गरी २९ जना छन् ।

कारागारको आफ्नो सवारीसाधन नभएको र उपचारको लागि सवारी साधन खोजेर लैजानु पर्ने हुँदा उपचारको साथसाथै सुरक्षाको समस्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विरेन्द्रबहादुर शाहीले बताउनुभयो । 

कारागारको गाडी नहुँदा राति कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजानु पर्ने अवस्था आउँदा झनै समस्या हुने प्रहरी प्रमुख शाहीले जानकारी दिनुभयो । २४ महिला र पुरुष गरी तीन सय १५ कैदीबन्दी रहेको निमित्त प्रमुख अधिकारीले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार