डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरण जरुरी छ : सञ्चारमन्त्री गुरुङ

8.4k Shares

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरणका लागि मन्त्रालय मातहतका निकायलाई आग्रह गर्नुभएको छ। 

मन्त्रालयले आज यहाँ आयोजना गरेको विषयगत समितिको बैठकमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सबै स्थानीय तहमा विद्युत्, टेलिफोन र इन्टरनेटको पहुँच महत्वपूर्ण भएको बताउनुभयो। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय विद्युतीय सुशासन कायम गराउने महत्वपूर्ण मन्त्रालय भएकाले यस मातहतका निकायले जिम्मेवारीपूवर्क दायित्व पूरा गर्नुपर्ने उहाँको भनाइ थियो। 

उहाँले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) विस्तारमा जोड दिन, विज्ञापन चुहावट नियन्त्रण गर्न, हुलाक सेवालाई डिजिटलाइजेसन गर्न, सरकारी निकायका वेबसाइटमा एकरुपता ल्याउने विषयमा काम गर्नसमेत निर्देशन दिनुभयो। 

मन्त्री गुरुङले ‘नागरिक एप’ साक्षरता अभियानसमेत सञ्चालन जरुरी रहेको उल्लेख गर्दै ब्रोडब्यान्ड सेवाको प्रयोग र पहुँच विस्तारका लागि ध्यान दिनसमेत आग्रह गर्नुभयो। 

मन्त्री गुरुङले विभिन्न स्थानीय तहले मोबाइल टावर राख्दा थप कर लिने गरेकाले पूर्वाधार निर्माणमा आर्थिक भार बढेकोसमेत उल्लेख गर्नुभयो। उहाँले समुदायिक विद्यालयमा ब्रोडब्याण्ड सेवा विस्तार, भूकम्प प्रभावित आठ जिल्लामा ब्रोडब्याण्ड सेवाको स्तरोन्नति हुनुपर्नेमा जोड दिनुभयो। उहाँले प्रदेश सरकारले आफ्नो कामबाट आफ्नो औचित्य पुष्टि गर्न जरुरी रहेकोसमेत बताउनुभयो। 

सम्बन्धित समाचार