धनुषामा वर्षेनी बढ्दै चैते धानको उत्पादन

7.2k Shares

ढल्केबर । धनुषामा चैते धानको उत्पादन क्षेत्र वर्षेनी बढ्दै गएको छ । चैते धान उत्पादनप्रति किसानको रुचि बढेपछि जिल्लामा चैते धानको उत्पादन क्षेत्रफल बढ्दै गएको हो । वर्षे धानभन्दा धेरै फल्ने, तुलनात्मकरुपमा रोग तथा किरा कम लाग्ने र सिँचाइको उपयुक्त व्यवस्था भएकाले यस बालीतर्फ किसानको रुचि बढेसँगै क्षेत्रफलमा वृद्धि भइरहेको स्थानीय किसानको भनाइ छ ।

धनुषाको धनुषाधाम नगरपालिका–६, हरिपुरका किसान मुनजी यादवले यतिबेला यहाँका किसान चैते धान रोप्न व्यस्त रहेको बताउनुभयो । गहुँबाली भित्र्याएर खाली भएको खेत तयार पारेर यहाँका किसान चैते धान रोपाइँ गरिरहेको बताउँदै उहाँले तीन चार वर्षअघिको तुलनामा यो बाली लगाउने किसानको सङ्ख्या निकै बढेको जानकारी दिनुभयो । यहाँ कति बिघामा यो धान रोपिएको बारे

उहाँले भन्नुभयो, “तीन/चार वर्ष अघिसम्म यहाँका थोरै किसानले मात्र यो बाली लगाउने गरेका थिए । अहिले चैते धान रोप्ने किसानको सङ्ख्यासँगै क्षेत्रफल पनि बढेको छ । यहाँ कति बिघा खेतमा यो धान रोपिएको बारे भन्न सकिँदैन तर यहाँका अधिकांश खेतमा चैते धान लगाइएको हुन्छ ।”

उहाँका अनुसार सिँचाइ गर्न किसान आफ्नै लगानीमा स्यालो ट्युवबेल गाडेका छन् । मलखाद सहज उपलब्ध, सहुलियत दरमा धानको बिउ र सिँचाइ गर्न सरकारको सहयोग प्राप्त भयो भने चैते धान उत्पादनको क्षेक्रफल अझै बढ्छ । धनुषाधाम नगरपालिका–६, का वडाध्यक्ष ऋषि लामाले अघिल्ला वर्षहरुको तुलनामा यसपाली बढी क्षेत्रफलमा चैते धान रोपिएको बताउनुभयो ।

यस्तै, चैते धान उत्पादनका लागि उर्वरभूमि मानिएको जिल्लाको उत्तरी क्षेत्र मिथिला नगरपालिका–११ तुलसीमा समेत यसपाली दोब्बर क्षेत्रफलमा चैते धान समयमै रोपिएको छ । रातु नदीबाट कुलोमार्फत यहाँका किसानले चैते धान समयमै रोपी सिध्याएको स्थानीय किसान प्रेमबहादुर कार्कीले बताउनुभयो । सिँचाइको प्रयाप्त सुविधा नभएपनि बाह्रौँ महिना पानी बगिरहने रातु नदीबाट कुलोमार्फत चुरे, बाहुनमारा, बिस्मवरमा चैते धान रोपिएको उहाँले जानकारी दिनुभयो ।

मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जयकुमार महताले चैते धान खेतीमा वृद्धि ल्याउन नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातकोे बिउ उपलब्ध गराएको बताउनुभयो ।

सम्बन्धित समाचार