किसानको समस्या समाधानमा आयोगको काम प्रभावकारी नभएको गुनासो

7.1k Shares

काठमाण्डौ  – किसानका समस्या समाधानका लागि बनेको किसान आयोग समस्या समाधानतर्फ लाग्नुपर्ने किसानले माग गरेका छन् ।

किसान सूचीकरण कार्यक्रम प्रभावकारी कार्यान्वयनका सम्बन्धमा राष्ट्रिय किसान आयोगले चितवनमा गरेको छलफलमा सहभागी किसानले आयोगलाई सहज रूपमा काम गर्ने वातावरण बनाउन माग गरेका हुन् । सहभागीले किसानको हकहितका विषयमा आवाज उठाउन आयोगलाई आग्रह गरेका छन् ।

नेपाल किसान महासङ्घ बागमती प्रदेश उपाध्याक्ष प्रतिभा पाण्डेले किसानका उत्पादनको उचित मूल्यका निम्ति आयोग सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । यस्तै देवचुली नगरपालिकाका मेयर हरिप्रसाद पोखरेलले किसानका समस्याप्रति संवेदनशील हुन आयोगलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेमप्रसाद दङ्गालले किसानका समस्या समाधानका लागि आयोगले सरकारलाई सुझाव दिएको बताउनुभएको छ । त्यस्तै किसानको सूचीकरणका लागि पालिकालाई अधिकार सम्पन्न बनाउनसमेत किसानले माग गरेका छन् ।

अहिले नेपालमा २० लाख ७१ हजार १ सय ६ जना किसानले सूचीकरणका लागि आवेदन दिएका कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव चेतबहादुर रोकाले जानकारी दिनुभयो । बागमती प्रदेशमा मात्र ३ लाख २९ हजार ८ सय ७६ जना किसान छन् ।

सम्बन्धित समाचार