पोखरा – स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा सडक निर्माणमा अनियमितता भएको पुष्टि भएसँगै विशेष अदालतले गाउँपालिका पूर्वअध्यक्षसहित १२ जनालाई दोषी ठहर गरेको छ।
बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले फैसला सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १६ गते वडा नम्बर १ अन्तर्गतको सडक ढलान तथा नाला निर्माणमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको थियो।
आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ मा सम्पन्न हुनुपर्ने परियोजनाको गुणस्तर कमजोर रहेको, निर्माण भत्किएको तथा ढलान उप्किएर रड देखिनेसम्मको स्थिति रहेको प्राविधिक प्रतिवेदनबाट प्रमाणित भएको थियो। ८ लाख ३४ हजार रुपियाँभन्दा बढीको अनियमितता पुष्टि भएपछि अदालतले ६ जनालाई कैद र अन्यलाई जरिवाना तथा क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ।