अफगानिस्तानमा छोरीहरूले भोग्नुपरेको पीडा

19.1k Shares

सीएनएन । काला आँखा र गुलाफी गाला भएकी ९ वर्षीय पर्वाना मलिक साथीहरूसँग धुलाम्य मैदानमा डोरी नाघ्ने खेल्दा खितखिताउँछिन् ।
तर जब उनी घर फर्किन्छिन्, उनको हाँसो हराउँछ । माटोको पर्खालले बनेको सानो झुपडीमा आफ्नो भाग्य सम्झिन्छिन्–  उनी बच्ची बेहुलीको रूपमा बिरानो व्यक्तिसँग बेचिँदैछिन् ।
उनलाई खरिद गर्न चाहेको पुरुष आफू ५५ वर्ष भएको बताउँछन्, तर पर्वानाको लागि ऊ सेता आँखीभौ र झुप्प दाहृी भएको ‘एक बूढो मानिस’ हो । पर्वानालाई उसले उसको घरमा कुट्नेछ र जबर्जस्ती काममा लगाउनेछ भन्ने चिन्ता छ ।
तर उनका आमाबाले यसबाहेक आफूहरूसँग कुनै विकल्प नभएको बताउँछन् ।
उनको परिवार मानवीय सहायता र दिनको केही डलर कमाइ हुने ज्यालादारी काम गर्दै चार वर्ष अफगानिस्तानको उत्तरपश्चिम बागिस प्रान्तमा विस्थापितहरूका लागि बनाइएको शिविरमा बसे ।
तर, तालिबानले अगस्ट १५ मा अफगानिस्तानको सत्ता हातमा लिएपछि मात्र उनीहरू जीवन कठिन बन्दै गएको छ ।
अन्तर्राष्ट्रिय सहायता रोकिएको र देशको अर्थतन्त्र ध्वस्त भएकाले उनीहरू खानेकुरा जस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न असमर्थ छन् । उनको बुबाले उनकी १२ वर्षीया दिदीलाई धेरै महिनाअघि नै बेचिसकेका छन् ।
देशको मानवीय संकट गहिरिएपछि विवाहका लागि बेचिने धेरै अफगान बालिकाहरूमध्ये पर्वाना एक हुन् । विशेषगरी क्रुर जाडो याम सुरु भएसँगै भोकले केही परिवारहरूलाई मुुटु धुजाधुजा हुने हृदयविदारक निर्णय गर्न बाध्य बनाएको छ ।
अभिभावकहरूले आफ्ना बालबच्चासँग कुराकानी गर्न र उनीहरूको अनुहार देखाउन पहुँच र अनुमति दिए । किनभने, उनीहरू भन्छन् यो प्रचलनलाई उनीहरू आफैँले परिवर्तन गर्न सक्दैनन् ।
“आफ्नो बालबच्चा बेच्नेको संख्या दिनदिनै बढिरहेको छ” बागिसका  मानवअधिकारकर्मी मोहम्मद नाइम नाजीमले भने । “खाना र कामको अभावमा ती परिवारहरूले यो काम गर्नैपर्ने ठान्छन् ।”
एक असम्भव छनोट
पर्वानाका पिता अब्दुल मलिक रातमा निदाउन सक्दैनन् । अपराधवोध, लाज र चिन्ताले उनी ‘टुक्रिएका’ छन् ।
उनले आफ्नो छोरी पर्वानालाई नबेच्न सक्दो कोसिस गरे । उनी काम खोज्न प्रान्तीय राजधानी क्वाला–इ–नो मा गए । तर काम पाउन सकेनन् । उनले आफन्तबाट थुप्रै पैसा पनि लिए । उनको श्रीमति अरू शिविरवासीसँग खानको लागि भीख माग्न बाध्य भइन् ।
तर, उनले आफ्नो परिवारलाई खुवाउन कुनै विकल्प नभएको महशुस गरे ।
“हाम्रो परिवारमा आठ जना छौँ”, उनले भने । “परिवारका अरु सदस्यहरूलाई बचाउन मैले उनलाई बेच्नैपर्छ ।”
पर्वानालाइ बिक्री गरेर आएको पैसाले परिवारलाई केही महिनामात्र थेग्नेछ, त्यसअघि मलिकले अर्को समाधान खोज्नैपर्छ, उनले भने ।
पर्वानालाई उनको आमाबाबाको सोचाइ परिवर्तन हुन्छ भन्ने आशा थियो । उनले शिक्षक बन्ने सपना देखेकी थिइन् । उनी आफ्नो पढाइ छोड्न चाहन्नथिन् । तर उनको अनुनय विनय निरर्थक भए ।  
अक्टोबर २४ मा एउटा मात्र नाम भएका कोर्बान उनको घरमा आए र भेडा, जमीन र नगद गरी २ लाख अफगानिस (झण्डै २२ सय डलर) पर्वानाको बुबालाई दिए ।
कोर्बानले आफूसँग पहिल्यै श्रीमति भएको र उनले आफ्नै केटाकेटीलाई जसरी पर्वानाको हेरविचार गर्ने भन्दै यो बिक्रीलाई विवाहको रूपमा वर्णन गरेनन् ।
“(पर्वाना) सस्तो थिइन् । उनका बुबा धेरै गरिब थिए । र उनलाई पैसा चाहिएको थियो”, कोर्बानले भने । “उनले मेरो घरमा काम गर्नेछिन् । मैले उनलाई पिट्ने छैन । मैले उनलाई परिवारको सदस्यलाई जस्तै व्यवहार गर्नेछु । म दयालु हुनेछु ।”
पर्वानाले टाउको ढाक्नेगरी कालो परिरहन लगाएकी थिइन् । उनको गलामा रंगीन फूलका माला थिए । उनले अनुहार लुकाएकी थिइन् । र उनको बुवाले रूँदैरूँदै दर्दनाक बोलीमा कोर्बानलाई भने “यो तपाईंकी दुलही हो । यसको ख्याल गर्नु । अब यसको जिम्मेवार तपाई हो । बिन्ती, उसलाई नपिट्नु ।”
कोर्बान राजी भए । त्यसपछि पर्वानाको पाखुरामा समाए र उनलाई ढोकातर्फ लगे । उनीहरू जाँदैगर्दा उनको बुबाले ढोकातिर हेरिरहे । पर्वानाले भूँइमा दह्रोसँग खुट्टा टेकेर फर्कन खोजिन् । तर यसको के नै अर्थ थियो र ? कुनै अर्थ थिएन । उनलाई पर्खिरहेको कारमा लतारियो, जुन विस्तारै प्रस्थान ग¥यो ।
पूरै विपत्तिजनक
तालिबानले सत्ता कब्जा गरेयता पर्वानाको जस्ता कथाहरू बढिरहेका छन् ।
१५ वर्ष भन्दा मुनिका बालबालिकाको विवाह देशव्यापी रूपमा गैरकानूनी भएपनि विशेषगरी अफगानिस्तानको ग्रामीण क्षेत्रहरूमा वषौँदेखि यो सामान्य रूपमा यो अभ्यास गरिँदै आइएको छ । व्यापक भोकमरी र उदासीनताको कारण अगस्ट यता केवल फैलिएको मात्रै हो ।  
संयुक्त राष्ट्रसंघको हालै सार्वजनकि एक प्रतिवेदन अनुसार आधा भन्दा धेरै जनसंख्याले अत्यधिक खाद्य असुरक्षा भोगिरहेको छ । र पाँच वर्ष मुनिका ३० लाख भन्दा बढी बालबालिकाले आगामी महिनाहरूमा कडा कुपोषणको सामना गर्दैछन् । यसैबेला खानेकुराको मूल्य आकाशीएको छ, बैंकमा पैसा सकिदैछ, कामदारहरू बेतलवी बन्दैछन् ।
यूएन अफिस फर द काअर्डिनेशन अफ ह्युमनीटेरियन अफेयर्स (यूएनओसीएचए)का अनुसार लडाइका कारण यस वर्ष झण्डै ६ लाख ७७ हजार मानिसहरू विस्थापित भएका छन् । उनीहरूमध्ये धेरै पर्वानाको परिवार जस्तै विस्थापित शिविरका पालमुनि र झुपडीमा बसिरहेका छन् ।
“यो बिल्कुल विपत्तिजकन छ”, ह्युमन राइट्स वाचका महिला अधिकार विभागका सह निर्देशक हीदर बारले भने । “यो संकट पार लगाउन हामीसँग महिना वा हप्ता छैन । हामी अहिले नै आपतमा छौँ ।”
विशेष गरी अफगान बालिकाहरूलाई यो सस्मस्या ज्यादा छ । तालिबानले सत्ता कब्जा गरेपछि उनीहरू घरमै बसेका छन् र आफ्ना दाजुभाईहरू माध्यामिक विद्यालय फर्किएको हेरेका छन् । तालिबानले बालिकाहरूलाई विद्यालय फर्कन अनुमति दिने योजनामा काम गरिरहेको बताएको छ । तर यो कहिले हुन्छ अथवा के कस्ता सर्तहरू लागू गरिनेछ भन्नेबारे केही बताएको छैन ।
बढ्दो गरिबीसँगैको अनिश्चितताले धेरै बालिकाहरूलाई विवाह बजारमा धकेलेको छ ।
“जहाँसम्म एउटी बालिका विद्यालयमा हुन्छिन्, उनको परिवारले उनको भविष्यको लागि लगानी गर्छन्”, ह्युमन राइट्स वाचका बारले भने । “एउटी बालिका शिक्षाबाट बाहिर आउनु भनेको त्यसलगत्तै विवाह गर्नु जानु जस्तै हो ।”
र एउटी केटी एक पटक बेहुलीको रूपमा बिक्री भएपछि उनले पढाइलाई निरन्तरता दिने अथवा स्वतन्त्र बाटोमा लाग्ने उनको सम्भावना शुन्य बराबर हुन्छ ।
बदलामा उनले अझै अँध्यारो भविष्यको सामना गर्नुपर्छ । संयुक्त राष्ट्रसंघको जनसंख्या कोष (यूएनएफपीए)का अनुसार गर्भनिरोधक वा प्रजनन् स्वास्थ्य सेवामा पहुँच नहुँदा १५ देखि १९ वर्षका करिब १० प्रतिशत केटीहरूले प्रत्येक वर्ष बच्चा जन्माउँछन् ।
यौनका लागि मन्जूरी दिन धेरैजसो केटीहरू धेरै कलिला छन्, समर्थ छैनन् । विकसित भइ नसकेको उनीहरूको शरिरले बच्चा जन्माउँदा धेरै जटिलता देखा पर्छन् । युएनएफपीएका अनुसार १५ देखि १९ वर्षका केटीहरूको गर्भावस्था सम्बन्धी मृत्युदर २० देखि २४ वर्ष उमेर समूहको भन्दा दोब्बर धेरै छ ।
‘म मेरो अभिभावकहरू छोड्न चाहन्न’
परिवारको ऋण तिर्न उनलाई ७० वर्षीय बुढोलाई बेच्न लागेकाले दश वर्षीय बालिका मगुल हर दिन रोइरहन्छिन् । उनी बागिसको छिमेकी गोर प्रान्तकी हुन् । उनको आमाबाले छिमेकीबाट दुई लाख अफगानिस (२२ सय डलर) लिएका थिए । तर कुनै काम अथवा बचत नहुँदा उनीहरूसँग पैसा फिर्ता गर्ने कुनै उपाय भएन ।
खरिदकर्ताले मगुलको बुबा इब्राहिमलाई ऋण नतिरे तालिबानको जेलमा कोच्ने धम्की दिए । एउटा नाम मात्र बताउन चाहने इब्राहिमले एक महिनामा चुक्ता गर्ने वाचा गरे । तर, अहिले त्यो भाका सकियो ।
“के गर्ने मलाई केही थाहा छैन”, इब्राहिमले भने । “मैले मेरी छोरीहरू दिएन भने पनि उसले लानेछ ।”
मगुलको आमा गुल अफ्रोज निःसहाय महशुस गर्छिन् । “यी खराब दिनहरू बितिजाउन् भनी भगवानसँग प्राथना गरिरहेकी छु” उनले भनिन् ।
कोर्बानले जस्तै मगुलको खरिदकर्ताले पनि उनलाई दुव्र्यवहार नगर्ने र उनले सामान्यतः खाना पकाउन र सरसफाइ गर्न सघाउनुपर्ने दाबी गरे । तर, उसले मगुलको परिवारलाई दिएको धम्कीको अगाडी उसको वाचा कृत्रिम÷कपटी लाग्छ ।
“मैले उसलाई पटक्कै चाहदिन । यदि उनीहरू (बाबाआमा)ले मलाई पठाए, आत्महत्या गर्नेछु” भूँइमा बसेकी मगुलले सुकसुकाउँदै भनिन् । “मेरा आमाबालाई छोड्न चाहन्न ।”
चार र नौ वर्षीया छोरीहरू बेच्दै गरेको गोर प्रान्तको नौ सदस्यीय एक परिवारको अवस्था पनि उस्तै छ । अधिकांश विस्थापित शिविरका बुबाहरूजस्तै उनको बुबासँग पनि कुनै पेशा छैन । तर उनको बुबा अपाङ्गता भएकाले झनै कठोर कठिनाइहरू भोग्दैछन् । उनले आफ्ना छोरीहरूलाई १ लाख अफगानिस (झण्डै ११ सय डलर) का दरले बेच्ने तयारी गर्दैछन् । प्वाँखजस्तै फिजारिएको खैरो कपाल, ठूलाठूला खैरा आँखा भएकी चार वर्षीय जैटोनलाई यो किन हुन गइरहेको छ भन्ने थाहा छ :“किनभने हामी गरिब परिवारका हौँ र हामीसँग खानेकुरा छैन ।”
उनीहरूकी बज्यै रोख्शाना चिन्तित छन् ।
“यदि हामीसँग खानेकुरा भएको भए र कसैले सहयोग गरेको भए हामीले यो कहिल्यै गर्ने थिएनौँ”, रोख्शानाले आँखाभरी आँसु पार्दै भनिन् । “हामीसँग कुनै बाटो छैन ।”
बागिसका स्थानीय तालिबान नेताहरूले आफ्ना छोरीहरू बेच्नबाट परिवारहरूलाई रोक्न खानेकुरा वितरण गर्ने योजना बताएको बताउँछन् । “हामीले यो योजना कार्यान्वयन गरेपछि पनि उनीहरूले आफ्ना बालबच्चा बेच्न जारी राखे भने उनीहरूलाई जेल हाल्छौँ,” तालिबानको न्याय विभागका प्रवक्ता मौलवी जलालुद्दीनले थप वर्णनबिना भने ।
तर यो समस्या बागिसमा मात्र सीमित छैन । यसबाहिर पनि फैलिएको छ । र जाडोयाम आएसँगै बढिरहेको बालविवाह रोक्न सकिने आशा गर्दै तालिबान र मानवीय समूहहरूले थप सहायताको लागि आग्रह गरिरहेका छन् ।
अमेरिका र उसको साझेदारहरू फिर्ता भएपछि तालिबानले तीव्र रूपमा अफगानिस्तान कब्जा गर्‍यो । त्यसपछि अन्तर्राष्ट्रिय समुदायले विकास सहायता रोकेका छन् । पैसा नुहँदा देशको अर्थतन्त्र र महत्वपूर्ण सेवाहरूमा असर पुगेको छ ।
देशहरू र बहुपक्षीय संस्थाहरू तालिबानलाई अफगानिस्तानको नेताको रूपमा वैधता दिएको मानिने डरले आफ्ना वाचाहरू नवीकरण गर्न आनाकानी गरिरहेका छन् ।
देशको अर्थतन्त्र पतनको नजिक पुगेका बेला संयुक्त राष्ट्रसंघका दाताहरूले १ अर्ब डलर मानवीय सहायताको प्रतिवद्धता जनाएका छन् । जसमध्ये ६० करोड ६० लाख डलरले अफगानिस्तानको अति जरुरी आवश्यकता पूरा गर्न सक्छ । तर  यूएनओसीएचएका एक प्रवक्ताका अनुसार प्रतिवद्धता गरिएकोमध्ये आधा भन्दा थोरै रकम मात्र प्राप्त भएको, केही सदस्य राष्ट्रहरूले अहिले सम्म सहायता रकम दिएका छैनन् ।
थुप्रै परिवार र विज्ञहरूले देशको भयानक अवस्थामा भएको सहायता अभावप्रति निराशा व्यक्त गरेका छन् ।
यूएनओसीएचएका कार्यालय प्रमुख इजावेल मौसार्द कार्लसेनले मानवीय सहायताकर्मीले अझै पनि राहत प्रदान गरिरहेको र अस्पताललाई सहयोग गरिहेकोमा जोड दिँदै यो पर्याप्त नभएको बताए ।
“तालिबान सरकारबाट रोक्का गरेका (विकास) कोषहरू फुक्का नगरेकाले यो जोखिमयुक्त छ, यहाँ गरिबी छ, यसले कलिला बालिकाहरू ग्रसित भइरहेका छन्,” कार्लसेनले भने ।
बार र कार्लसेन विश्व नेताहरूले मानव अधिकार उल्लङ्घनका घटनामा तालिबानलाई उत्तरदायि बनाउनुपर्ने आवश्यकता स्वीकार गर्छन् । तर, विकास सहायताबिता धेरै परिवारहरूले भोकमरीबाट मृत्युको सामना गर्ने र धेरै बालिकाहरू बेचिने सम्भावना रहेको चेतावनी दिएका छन् ।
तालिबानले पनि सहायताको लागि अपील गरेको छ । “तालिबानले सहायता नियोगहरूलाई अफगानिस्तान आउन र यी मानिसहरूलाई सहयोग गर्न आग्रह गरिरहेको छ”, गोर प्रान्तका आन्तरिक विस्थापन शिविरका एक तालिबान निर्देशकले भने । “मैले अन्तर्राष्ट्रिय समुदाय र सहायता नियोगहरूलाई हिउँद सुरु हुनुअघि नै आउन र सहयोग गर्न अनुरोध गरिरहेको छु । कृपया आउनुहोस् र सहयोग गर्नुहोस् ।”
बागिस प्रान्तको अफगान विस्थापिन शिविरमा फर्कदा, उनको छोरीको लागि बिक्रीको अर्थ के हो भन्नेमा मलिकलाई कुनै भ्रम छैन । अथवा उनको परिवारको भविष्यका लागि कठोर अवस्था हो भन्ने भन्नेमा उनलाई कुनै भ्रम छैन ।
कोर्बानले उनको छोरीलाई दुलहीको रूपमा नभइ कामदारको रूपमा काम लगाउने बताएका छन्, तर मलिकलाई थाहा छ अब छोरीमाथि के हुन्छ भन्ने कुरा उनको नियन्त्रणमा छैन ।
“त्यो बुढो मान्छेले मैले यो केटीको लागि पैसा तिरेको छु भन्यो । यो केटीसँग मैले के गर्छु भन्ने तिम्रो विषय होइन, त्यो मेरो कुरा हो”, मलिकले भने ।
अगाडिका धुमिला दिनहरूको बारेमा सोच्दा यो अशुभ चेतावनीले मलिकलाई गह्रौगरी थिचेको छ । चीसो आउँदैछ । देशका केही भागहरूमा हिउँले ढाक्न सुरु गरिसक्यो । पर्वानालाई बेचेको पैसा सकिएपछि उनी पहिलेकै अवस्थामा फर्किनेछन् । घरमा सहयोग गर्न उनीसँग अझै तीन छोरीहरू र एक छोरा छन् ।
“मैले देख्न सकेअनुसार हाम्रो भविष्य छैन । हाम्रो भविष्य ध्वस्त पारिएको छ”, उनले भने “यदि मेरो आर्थिक अवस्था सुध्रिएन भने मैले अर्की छोरी बेच्नुपर्ने हुन्छ । सम्भवत दुई वर्षीया छोरी ।” सीएनएनबाट

सम्बन्धित समाचार