२०२४ मा नेपाली फिल्मले देखाएको भरपूर आशाः आक्रामक व्यापारले हटायो निराशा

10.5k Shares

काठमाडौं– अङ्ग्रेजी बर्ष २०२४ मंगलबारबाट समाप्त हुँदै २०२५ सुरु हुँदैछ। बर्षका हिसाबले सुरु हुनै लागेको २०२५ नयाँ शताब्दिको सिल्भर समय हो। तर, यो बर्षान्तर नेपाली फिल्मका लागि भने सुनौलो समय साबित भएको छ।

यस बर्ष नेपाली फिल्महरूले बलिउड र हलिउडका फिल्मलाई सिनेमा घरमा लामो समय टिक्न दिएनन्। बर्षान्तमा रिलिज भएको दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’ बाहेक अन्य फिल्मले हलमा पानी पनि भन्ने अवस्था आएन। 

कतिपय ठूलो फिल्म त वितरकले ल्याउने कोशिश समेत गरेनन्। त्यसो नगर्नुको कारण थियो, नेपाली फिल्मको बर्चश्व र आक्रामक व्यापार। 

१२ महिनामा रिलिज भएका धेरै फिल्मले लगानी डुबाएनन्। कतिपय औषतमा रहे पनि ६ वटा फिल्मले भने धमाकेदार व्यापार गरेका थिए। 

ति मध्यको पहिलो फिल्म हो, मनसरा। 

मनसरा २०२४ मा प्रदर्शनमा आएको नेपाली सामाजिक ड्रामा फिल्म हो, जसलाई उपेन्द्र सुब्बाले लेखन र निर्देशन गरेका हुन्। 

मनसरा विशेष प्रकारको धान हो, जसलाई एक्लै उम्रन नसक्ने विश्वास गरिन्छ; त्यसैले यसको बीउ अन्य प्रजातिसँग मिसाएर रोपिन्छ। केही क्षेत्रमा यसलाई ‘फौडेल मनसरा’ पनि भनिन्छ। तर, यो फिल्मले मनसरा एक्लै पनि उम्रन सक्छ भन्ने सम्भावना प्रस्तुत गरेको थियो। प्रतिकात्मक रुपमा यो फिल्म त्यहि लयमा बगेको थियो।

फिल्मले नेपालमा प्रदर्शनको पहिलो हप्तामा नै रु ३.२ करोडको कमाई गरेको थियो, यसको अर्थ लगानी उठाइसकेको थियो।

तथापि, ’बोक्सीको घर’ फिल्मसँगको प्रतिस्पर्धाका कारण यसको बक्स अफिस सम्भावनामा केही असर परेको थियो।

त्यस्तै अर्को फिल्म हो ‘बोक्सीको घर’। 

बोक्सीको घर २०२४ मा प्रदर्शनमा आएको नेपाली मनोवैज्ञानिक सामाजिक–थ्रिलर फिल्म हो, जसलाई सुलक्षण भारतीले लेखन र निर्देशन गरेका छन्। 

यो फिल्मले नेपाली समाजमा विद्यमान बोक्सी प्रथाका कारण महिलामाथि हुने हिंसालाई उजागर गर्दछ। काठमाडौँकी एक पत्रकारले दुर्गम गाउँमा बोक्सीको आरोपमा परेकी महिलाको अनुसन्धान गर्दा समाजमा रहेका अन्धविश्वास र कुरीतिहरूको पर्दाफास गर्छिन्। 

फिल्मले नेपालमा पहिलो चार दिनमै ३.२४ करोड ग्रस कमाई गरेको थियो, जसले यसलाई व्यावसायिक रूपमा सफल बनायो। पहिलो हप्तामा ६.०५ करोड ग्रस कमाई गरेको यो फिल्मले तीन हप्तामा  १० करोड ग्रस कमाई गर्दै ब्लकबस्टर बन्न अवसर पायो। 

त्यस्तै अर्को फिल्म हो, ‘बेहुली फ्रम मेघौली’।

बेहुली फ्रम मेघौली २०२४ मा प्रदर्शनमा आएको नेपाली फेमिली कमेडी ड्रामा हो। जसलाई साजन काफ्ले र आकाश बरालले लेखन र निर्देशन गरेका थिए। यो फिल्म निश्चल बस्नेत र स्वस्तिमा खड्काले निर्माण गरेका हुन्। 

फिल्मले परम्परागत नेपाली परिवारको कथा प्रस्तुत गर्दछ, जहाँ एक पिता आफ्नी छोरीका लागि उपयुक्त वर खोज्न संघर्षरत छन्, जबकि छोरीले सच्चा प्रेमको खोजी गरिरहेकी छिन्। 

यो फिल्म नेपालभरी ३ अक्टोबर २०२४ मा प्रदर्शनमा आएको थियो। तर हिन्दी फिल्मका लागि हल दिएका कारण निर्माता बस्नेत केही असन्तुष्ट रहे पनि यो फिल्म बर्षको राम्रो व्यापार गर्नेमा पर्दछ। 

यसैगरी दशैंको फूलपातीको मौका पारेर रिलिज भयो ‘छक्का पञ्जा ५’।

छक्का पञ्जा ५, २०२४ मा प्रदर्शनमा आएको नेपाली कमेडी ड्रामा हो, जसलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। दीपकराज गिरिले लेखेको यो फिल्ममा केदार घिमिरे, वर्षा शिवाकोटी, राजाराम पौडेल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ। 

फिल्मले भ्रष्टाचार र इमानदार सरकारी कर्मचारीहरूको संघर्षलाई उजागर गर्दछ। यसमा प्रेम, राजनीति र हास्यलाई समेटिएको छ। 

फिल्मको पहिलो गीत ‘बिहे भाको छैन’ १२ अगस्ट २०२४ मा सार्वजनिक गरिएको थियो। त्यसपछि ‘ब्रेकअप सङ’ १८ सेप्टेम्बर २०२४ मा रिलिज भएको थियो। 

फिल्मले पहिलो दिनमै करिब रु १.५० करोड कमाई गर्दै २०२४ को सबैभन्दा ठूलो ओपनिङ गरेको थियो। पहिलो ६ दिनमा नै ११.५ करोड कमाई गरेको यस फिल्मले ३४ दिनमा २०.१० करोडको कमाई गरेको थियो।

यसैगरी सोही मितिमा रिलिज भएको अर्को फिल्म हो, ‘१२ गाउँ’। १२ गाउँ २०२४ मा प्रदर्शनमा आएको नेपाली एक्सन ड्रामा फिल्म हो, जसलाई विराज भट्टले निर्देशन गरेका छन्। 

फिल्मको कथा एक छोराको बदला यात्रामा केन्द्रित छ, जसका अभिभावकलाई एक अत्याचारी गाउँ प्रमुखले हत्या गरेका हुन्छन्। गाउँ प्रमुखले आफ्नो गिरोहमार्फत् डरको शासन चलाउँछन् र गाउँलेहरूलाई दमन गर्छन्। 

फिल्मको ‘सिनेमा हेर्न जाउँ’ शीर्षकको गीत ७ सेप्टेम्बर २०२४ मा सार्वजनिक गरिएको थियो। त्यसपछि ‘कसो कसो’ गीत २३ सेप्टेम्बर २०२४ मा रिलिज भएको थियो। ’यो मनले’ गीत फिल्म प्रदर्शनपछि १७ अक्टोबर २०२४ मा सार्वजनिक गरिएको थियो। 

१२ गाउँले पनि प्रदर्शनको पहिलो हप्तामा नै  १.०५ करोड कमाई गर्दै २०२४ को सबैभन्दा ठूलो ओपनिङ गरेको थियो। फिल्मले ५१ दिनमा करिब २६ करोड कमाई गर्दै सबैभन्दा बढी कमाई गर्ने नेपाली फिल्ममध्ये एक बनेको थियो। 

यो फिल्मले नेपालमा एक्शन फिल्मको बजार गिरेको छैन भन्ने सन्देश दिएको थियो।

यसबर्षको भारी व्यापार गर्ने र सर्वाधिक लोकप्रियतासहित ५१ दिन मनाउने फिल्म हो, ‘पूर्णबहादुरको सारङ्गी’।

पूर्णबहादुरको सारङ्गी २०२४ मा प्रदर्शनमा आएको नेपाली सोसियल ड्रामा जनरामा बनेको फिल्म हो, जसलाई सरोज पौडेलले निर्देशन गरेका छन् र महेश दवाडीले लेखेका छन्। 

सेभेन सीज सिनेमा र बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। 

फिल्मले गन्धर्व समुदायको जीवन, उनीहरूको सांस्कृतिक संरक्षण, प्रेम, वियोग, र शिक्षामा पहुँचका लागि उनीहरूले सामना गर्नुपरेका चुनौतीहरूलाई उजागर गर्दछ। यसले सामाजिक र आर्थिक कठिनाइहरूको बीचमा उनीहरूको लचिलोपनलाई चित्रण गर्दछ। 

तिहारको फूलपातीको साइत पारेर आएको यो फिल्म सम्भवत यो रिपोर्ट तयार पार्दासम्म प्रदर्शनमा छ, कतिपय सिनेमा घरमा। यो फिल्मले दक्षिण भारतीय फिल्म पुष्पा २ लाई पनि टक्कर दिएको थियो। 

पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको १३औं दिनसम्ममा देशव्यापी रूपमा २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाई गर्दै नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाउने फिल्मको कीर्तिमान स्थापित गरेको थियो।

समग्रमा यो फिल्मको कमाई ५० करोड त नेपालमै कटिसकेको पनि बताइन्छ। फिल्मले समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।

सन् २०२४ मा नेपाली फिल्ममा एउटा आशा जागेको छ, व्यापारले निराशा हटाएको छ। अब २०२५ मा कस्ता फिल्म आउँछन् त्योचाहिँ हेर्न बाँकी छ।

सम्बन्धित समाचार