काठमाडौं । सोमबार साँझ कलंकीस्थित एलआरआई स्कुल नजिकको सडक खण्डमा भएको ग्याङफाइटमा हत्या भएका व्यक्तिको अनुसन्धानका लागि प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ ।
ग्याङफाइट भएको सूचना पाएलगत्तै प्रहरी वृत्त कालीमाटी, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानहरुबाट १५ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकाहरु मध्ये हत्यामा क-कसको संलग्नता छ भन्ने विषयमा स्क्रिनिङ गर्ने काम भइरहेको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
‘नियन्त्रणमा रहेका मध्येहरुबाट स्क्रिनिङ गरेपछि बल्ल कसको संलग्नता रहेछ भन्ने थाहा हुन्छ । अनि मात्रै हामी सार्वजनिक गर्छौं’, एसपी बोहोराले अनलाइनखबरसँग भने ।
ग्याङफाइटमा परेर काठमाडौं ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय गोलेको मृत्यु भएको थियो । गम्भीर घाइते रहेका उनलाई कलंकीस्थित शहीद ममोरियल अस्पताल लगिए पनि डाक्टरले राति ८ बजे मृत घोषित गरेका थिए ।