सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

9k Shares

काठमाडौं – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ ।

बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ रन जोडे । उनले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । छैठौं विकेटका लागि किरण र कप्तान नारायण जोशीले ५६ रनको नट आउट विजयी साझेदारी गरे ।

कप्तान नारायण २७ बलमा ३ चौकाको सहयोगमा २५ रनमा नट आउट रहे । प्रकाश पाण्डे ४६ बलमा ३ चौकाको सहयोगमा २२ रन जोड्दै आउट भए । खडक बोहोरा ११ रनमा आउट भए ।

लुम्बिनीका लागि रमेश कुर्मीले २ तथा विप्रसन केसी, अजय चौहान र निर्मल गुरुङले समान १ विकेट लिए ।

त्यसअघि एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ रन जोडेका थिए । उनले ७१ बलको सामना गर्दै ४ चौका प्रहार गरे ।

प्रज्वल थापाले ५७ बलमा ३ चौकाको सहयोगमा ३० रन जोडेका थिए । लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ८१ रनमा ३ विकेट गुमाएको लुम्बिनीले ३५रन जोड्दा बाँकी ७ विकेट गुमाएको थियो ।

लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त धामीले ४ तथा सौय श्रेष्ठ, शेर मल्ल र मिलन बोहोराले समान २ विकेट लिए ।

जितसँगै सुदूरपश्चिमको प्रतियोगितामा ६ खेलबाट ४ अंक भएको छ । पराजित लुम्बिनी ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा यथावत छ ।

सम्बन्धित समाचार