काठमाण्डौ – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूले स्थानीयवासीको चर्को दबावपछि सामाजिक उत्तरदायित्वअन्तर्गतका काम पूरा गर्ने भएका छन् । रघुगङ्गामा निर्माणाधीन पाँच वटा जलविद्युत् आयोजनाले जीर्ण सडकको स्तरोन्नतिसहित मुख्य मागमा लिखित सहमति जनाएका हुन् ।
आयोजनाहरूले प्रभावित क्षेत्रको सडकलाई स्तरोन्नतिका लागि यसअघि भएको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयवासीले चरणबद्ध आन्दोलन गरेपछि ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलव ५ मेगावाटको ठूलोखोला ‘ए’, ३५ दशमलव ५ मेगावाटको राहुघाट मङ्गले, २१ दशमलव ३ मेगावाटको ठूलोखोला र ४८ दशमलव ५ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजनाले ३३ बुँदे लिखित माग पालना गर्ने बताएका गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
रघुगङ्गाका सबै वडावासीलाई प्रभावित क्षेत्रमा राखेर १० प्रतिशत शेयर वितरणका लागि पनि जलविद्युत् आयोजनाहरू सहमत भएका छन् । आयोजनाले यस अगाडि प्रभावित क्षेत्रका बासिन्दालाई मात्रै शेयर प्रक्रियामा सहभागी गराउने गरेका थिए ।