नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशन अन्तर्गत दुई वटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ भनेको दुई अन्तरिक्षयान अन्तरिक्षमा एकसाथ जोडिनु हो । डकिङ स्वचालित वा कम्प्युटरद्वारा नियन्त्रित हुन सक्छ ।
इसरोले स्थानीय समय अनुसार बिहान ०९ः२० बजे पहिलो प्रयासमा स्पाडेक्स उपग्रहहरू अनडक गर्ने कार्य पूरा गर्यो ।
अन्तरिक्ष एजेन्सीले उपग्रहहरूको अनडकिङ ४५ डिग्रीको झुकावमा ४६० किलोमिटरको गोलाकार कक्षमा भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, एजेन्सीले उपग्रहहरू अहिले स्वतन्त्र रूपमा परिक्रमा गरिरहेको र उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ ।
स्प्याडेक्स जनवरी १६, सन् २०२५ मा डक गरिएका थिए । एक वरिष्ठ अधिकारीका अनुसार पछिल्लो अन्तरिक्ष विकासले भारतीय अन्तरिक्ष स्टेशन, चन्द्रमा अभियान र आकाश यान लगायत भविष्यका अभियानहरूको सहज सञ्चालनको लागि मार्ग प्रशस्त गर्नेछ ।