बाँके खजुराको एउटै वडामा १४ जना क्यान्सरका बिरामी भेटिए

8.9k Shares

नेपालगन्ज। बाँकेको एउटा पालिकाको एउटा वडामा मात्रै १४ जना क्यान्सरका शंकास्पद बिरामी भेटिएका छन्।

जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरमा नसर्ने रोग पहिचानका लागि आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा चेकजाँचका क्रममा १४ जना पाठेघर सम्बन्धी क्यान्सरका शंकास्पद बिरामी महिला भेटिएको प्राथमिक स्वास्थ्य केन्द्र खजुराले जनाएको छ। 

सो शिविरमा उच्च रक्तचापका आठ जना, मधुमेहका ३० जना, स्वासप्रस्वास सम्बन्धी समस्या भएका दुई जना, मिर्गौला सम्बन्धी समस्या भएका पाँच जना र मुत्रनली संक्रमण सम्बन्धी समस्या भएका छ जना बिरामी भेटिएको प्राथमिक स्वास्थ्य केन्द्र खजुराका मेडिकल अफिसर डा. अनिस रुचालले बताउनुभयो। 

उहाँले स्वास्थ्य शिवरमा सेवा लिन आएका महिलाको पाठेघरको मुखको क्यान्सरको भिआईए परीक्षण गर्दा १४ जना महिलामा सो समस्या पोजेटिभ भेटिएको बताउनुभयो। 

खजुरा गाउँपालिकाको स्वास्थ्य तथा सामाजिक विकाश शाखा प्रमुख लक्ष्मी केसी ओलीले भिआईए परीक्षण गर्दा ५८ जना महिलामा नेगेटिभ पाइएको जानकारी दिनुभयो।

उहाँका अनुसार सो शिविरमा भेरी अस्पताल नेपालगन्जकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. उर्मिला पराजुली र प्राथमिक स्वास्थ्य केन्द्र खजुराका मेडिकल अफिसर डा. अनिस रुचाललगायतले स्वास्थ्य परीक्षण गर्नुभएको थियो। 

एउटै वडामा यति धेरैजना क्यान्सरको शंकास्पद विरामी भेटिनु गम्भीर कुरा भएको जनाउँदै ती महिलालाई भेरी अस्पताल नेपालगन्जमा आवश्यक परामर्शसँगै थप उपचारका लागि रिफर गरिएको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.उर्मिला पराजुलीले बताउनुभयो।  

सो निःशुल्क स्वास्थ्य शिविरमा नसर्ने रोग पहिचान गर्नुका साथै निःशुल्क औषधी वितरण गरिएको थियो। शिविरमा राधापुरका १२० जना सर्वसाधारणले स्वास्थ्य जाँचसँगै औषधी र परामर्श पाएका थिए।

सम्बन्धित समाचार