ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डमा १० किलोमिटर सडक कालोपत्र गरिएको छ ।
गुल्मी र बागलुङको सिमाना पालुङखोलादेखि बलेवासम्म पहिलो र बलेवादेखि मालढुङ्गासम्म दोस्रो गरी दुई खण्डमा ठेक्का लगाएर धमाधम काम भइरहेको छ ।
पालुङखोलादेखि बलेवासम्मको पहिलो खण्डमा पर्ने २४ किलोमिटर कालिका कन्स्ट्रक्सन र बलेवादेखि मालढुङ्गासम्मको १० किलोमिटर खड्का-कृष्ण-बिएन जेबीले जिम्मा लिएर काम गरिरहेका छन् । हालसम्म पहिलो खण्डमा मात्रै कालोपत्र भएको कालीगण्डकी करिडोर आयोजना कार्यालयका सूचना अधिकारी अरुण खत्रीले जानकारी दिए।
दोस्रो खण्डमा सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र ‘रक कटिङ’को काम भइरहेको उनको भनाइ छ । अब पहिलो खण्डमा १४ र दोस्रो खण्डको १० किलोमिटर गरी २४ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको खत्रीले बताए। उनका अनुसार पालुङखोलादेखि बलेवासम्म ५० प्रतिशत र बलेवादेखि मालढुङ्गासम्म ७० प्रतिशत काम सम्पन्न भएको छ ।