मतभेद हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न देउवाको निर्देशन

10.7k Shares

सुदूरपश्चिम – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र असमझदारी हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज धनगढीमा सुरु भएको पार्टीको प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा उहाँले आपसी प्रतिस्पर्धाका नाममा पार्टीलाई अहित गर्ने काम गर्न नहुने र सुदूरपश्चिमबाटै यसको सुरुआत गर्न आग्रह गरे ।

“पार्टीभित्रको प्रतिपस्र्धा स्वभाविक मानिए पनि अन्य पार्टीसँगको प्रतिस्पर्धाका क्रममा हुने अन्तर्घात जस्तो रोगलाई सदाका लागि निर्मूल गरेर अघि बढ्नुपर्छ । यसको सुरुआत यहीबाट गरौँ”, उनले भने ।

कांग्रेस–एमालेबीच गठबन्धन गर्नुपर्ने विविध कारण उल्लेख गर्दै सभापति देउवाले मुख्य प्रतिस्पर्धी भए पनि संसद्को गणित र देशको आवश्यकताअनुसार मिलेर सरकार बनाउनुपरेको धारणा राखे। उनले प्रतिस्पर्धालाई आफ्नो ठाउँमा राखेर देशका हितमा भोलिका दिनमा पनि मिलेर काम गर्न सकिने बताए।

“संविधानबमोजिम राष्ट्र नै समावेशी र समानुपातिक पद्धतिमा चलेकाले प्रत्यक्ष चुनावमा कुनै पनि पार्टीको बहुमत प्राप्त गर्न नसकेकाले कुनै पनि पार्टीसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको छ । प्रतिस्पर्धा हुन्छ तर मिलेर पनि काम गर्नुपर्ने आवश्यकता छ । भोलिका दिनमा हामी सबै मिले सङ्गठन बलियो बनाउन लाग्यौँ भने एक्लै बहुमत पनि ल्याउन सकिन्छ । त्यसका लागि इमान्दर भएर लागौँ”, उनको आग्रह थियो ।

उपसभापति पूर्णबहादुर खड्काले पार्टीले गरेका राम्रा कामको प्रचार गरेर पार्टीप्रति जनताको विश्वास र भरोसा जगाउन जरूरी रहेको धारणा राखे । उनले भने, “पार्टीप्रतिको भरोसाको जगलाई आधार बनाएर अहिले देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सकिन्छ । त्यसमा सबै जुटौँ, आआफ्नो क्षेत्र र तहबाट राम्रो काम गरौँ ।”

महामन्त्री गगनकुमार थापाले देशमा व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएको गुनासो आइरहेकाले पार्टीले नागरिकको असन्तुष्टिको आगो निभाउनेतिर लाग्नुपर्ने बताए । उनले शासनको भार संविधानलाई बोकाएर नहुने भन्दै संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले संविधानबमोजिम जनताको अवस्था बदल्ने विश्वास दिन जरूरी रहेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार