गण्डकी– पर्यटन राजधानी पोखरा जोड्ने तीन सडक यति बेला स्तरोन्नतिको चरणमा छन् । पोखरा–मुग्लिन सडक, पोखरा–लमजुङ सडकअन्तर्गत तालचोक–बेगनास र मध्यपहाडी लोकमार्गको हरिचोक–याम्दी खण्ड कालोपत्र हुने भएको छ ।
पोखरा–मुग्निल सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म ४३.३४ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार हालसम्म २९.४७ किमि सडक कालोपत्र भएको छ । चार लेनको उक्त सडकमा १५.३२ किमिमा दुईतर्फी र १४.१५ किमिमा एकतर्फी कालोपत्र भइसकेको छ ।
‘तनहुँमा साढे दुई किमि कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ’, उनले भने, ‘आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ ।’
चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि उक्त खण्डको काम सुरु गरेको थियो ।
कास्की र तनहुँमा पर्ने पश्चिम खण्डको तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि निर्माण कम्पनीले म्याद थपेर काम गरिरहेको छ ।
पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए ।
वियजपुर खोला र सेती नदीमा पुल निर्माण सँगसँगै भइरहेको उनको भनाइ छ । ३८.८८ किमि दुरीको पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ ।
चिनियाँ निर्माण कम्पनीले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो ।
कूल ४१.४५ किमिको पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो ।
विसं २०७९ चैतदेखि निर्माण थालिएको उक्त सडक विश्व बैङ्कको सहुलियत ऋणमा बन्न लागेको हो । कूल ३.२८ किमिको उक्त सडकको हालसम्म भौतिक प्रगति ४५ प्रतिशत पुगेको पोखरा महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले बताए ।
निर्माण कम्पनी ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माणको काम सुरु गरेको थियो ।
एक अर्ब ४९ करोड रुपैयाँको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक ७५ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताए । फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नुमना सडक बन्ने उनको भनाइ छ ।
सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत पूर्वाधार बनाइने महानगरपालिकाले जनाएको छ । सडकमा तीन वटा पुल निर्माणाधीन अवस्थामा छन् । सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माण भइरहेको इन्जिनियर गौतमले बताए ।
इन्जिनियर नेपालले आगामी असारसम्म उक्त सडक कालोपत्र गर्ने लक्ष्य लिइएको बताए । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरासँग जोडिएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत हरिचोक–याम्दी खण्ड कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ ।
निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक समयमा निर्माण हुन सकेको थिएन । दुवैतर्फ चार लेनको सडक बनिसक्दा पनि उक्त खण्ड समयमा निर्माण नहुँदा लोकमार्गको यात्रा सास्तीपूर्ण बनेको थियो । विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्या जस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ भएको जनाइएको छ ।