काठमाडौँ । बहिरा (सुस्त श्रवण) विद्यार्थीलाई उच्च शिक्षाको अवसर दिइरहेको मुलुककै पहिलो र एक मात्र केन्द्रीय बहिरा क्याम्पस यतिबेला अस्तित्व रक्षाको सङ्कटबाट गुज्रिरहेको छ ।
क्याम्पस स्थापना भएको १२ वर्ष भइसकेको छ । त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा क्याम्पसले २०६९ सालदेखि स्नातक तहमा शिक्षाशास्त्र सङ्कायको पढाइ सञ्चालन गरिरहेको छ तर कतैबाट पनि पर्याप्त सहयोग नहुँदा क्याम्पसको अवस्था शैक्षिक, प्रशासनिक तथा भौतिक रूपमै दयनीय छ ।
बहिरा विद्यार्थीलाई विद्यालय तहको शिक्षा दिने विद्यालय अन्य ठाउँमा भए पनि उच्च शिक्षाको अवसर प्रदान गर्ने शैक्षिक संस्था यो एउटा मात्रै हो । यहाँ मुलुकभरका बहिरा विद्यार्थीले पढिरहेका छन् । क्याम्पसका अनुसार हाल क्याम्पसमा १६५ जना विद्यार्थी अध्ययनरत छन् । ७० जनाले क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरिसकेका छन् ।
स्नातक उत्तीर्णका लागि स्नातकोत्तर तहको व्यवस्था गर्न सकिएको छैन । हाल क्याम्पस नक्सालस्थित केन्द्रीय बहिरा विद्यालयले उपलब्ध गराएको एउटा भवनको चार वटा कोठामा सञ्चालित छ । बहिरा विद्यालय भने सरकारीमातहत भएकाले काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको छ ।
विद्यालयले आफूलाई स्थान अपुग रहेको बतायो भने क्याम्पसले कुनै पनि बेला अन्यत्र सर्नुपर्ने बाध्यता छ । दिउँसो विद्यालय तहमा बहिरा विद्यार्थीको पढाइका लागि कक्षाकोठा चाहिने भएका कारण क्याम्पसको पढाइ अहिले पनि विद्यालय तहका विद्यार्थी पढेर घर गएपछि साँझमा मात्रै हुने गरेको छ ।
साँझमा पढाइ हुने भए पनि क्याम्पस सञ्चालन भएको स्थानमा पनि पर्याप्त बिजुली, पानी, शौचालयलगायत विद्यार्थीका लागि आवश्यक पर्ने न्यूनतम सुविधासमेत पर्याप्त छैन । क्याम्पसका लागि शिक्षक कर्मचारीका लागि छुट्टै कार्यालय सञ्चालन गर्ने ठाउँ छैन । राज्यबाट सहयोग नहुँदा शिक्षक, कर्मचारीलाई पर्याप्त सुविधा दिन सकिएको छैन भने तालिम प्राप्त शिक्षक नहुँदा पठनपाठनलाई प्रभावकारी बनाउन पनि सकिएको छैन ।
अहिले दिउँसो बहिरा विद्यालयमा पढाउने शिक्षक र बाहिरका केही शिक्षकको भरमा क्याम्पस सञ्चालन भइरहेको छ । कतिसम्म भने विद्यार्थीका लागि शिक्षाशास्त्र सङ्कायमा मात्रै पढ्नुपर्ने बाध्यता छ । बहिरा विद्यार्थीले कक्षा १२ मा जुन विषय पढे पनि स्नातक तहमा शिक्षाशास्त्र सङ्काय मात्रै पढ्नुपर्ने बाध्यता छ । त्यति मात्रै होइन, विद्यार्थीले शिक्षाशास्त्रमा पनि जनसङ्ख्या र नेपाली विषय मात्रै ऐच्छिक रूपमा रोज्नुपर्ने बाध्यता छ ।
“मेरो छोरा कान मात्रै सुन्दैन । अन्य सबै हिसाबले ‘स्मार्ट’ छ । उसलाई शिक्षाबाहेक अन्य सङ्कायमा पढ्ने इच्छा थियो तर विकल्प नहुँदा मन नलागे पनि यही विषय पढिरहेको छ,” सोही क्याम्पसमै छोरा पढाइरहेका अभिभावक दिवाकर चापागाईंले भन्नुभयो, “राज्यले बहिरा विद्यार्थीको उच्च शिक्षालाई पटक्कै प्राथमिकता दिएको छैन । त्रिविले पनि सम्बन्धन दिएपछि क्याम्पसको हितका लागि केही पनि सोचेको छैन जुन दुःखद हो ।”
यहाँ अनिवार्य विषय भने अन्य सङ्कायका विद्यार्थी सरह पढाइ हुन्छ । सङ्केतबाट पढाउनुपर्ने विद्यार्थीका लागि कुनै पनि सुविधा नरहेको क्याम्पस सञ्चालक समितिका सदस्यसमेत रहनुभएका चापागाईंले गुनासो गर्नुभयो ।
क्याम्पस सञ्चालक समितिका सदस्यसमेत रहनुभएका अर्का अभिभावक टेक बमले पनि बहिरा विद्यार्थीले कान सुन्न नसके पनि अन्य हिसाबले सक्षम रहेको बताउनुभयो तर विद्यार्थीलाई शिक्षाशास्त्र सङ्कायभन्दा बाहेकमा पढ्ने अवसर प्रदान गर्न नसकिएको उहाँले बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट