हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा ४३ जना घाइते हुनुभएको छ । बिहीबार बिहान ४ बजेर ५० मिनेटको समयमा इटहरीबाट भैरहवा जाँदै गरेको लु.२ ख ५९९ नम्बरको यात्रुवाहक बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।
सवारी दुर्घटनामा १६ जना मध्यम र २७ जना सामान्य घाइते हुनुभएको छ । मध्यम घाइते मध्य ६ जनाको नयाँ मेडिकलमा र १० जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यस्तै सामान्य घाइते ३ जनाको नयाँ मेडिकलमा र २४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकाहरूको अवस्था मध्यम रहेको छ । उहाँका अनुसार बसको स्टेरिङ लक भएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घाइतेहरूको शरीरको विभिन्न भागमा चोट लागेको छ । यात्रुबहाक बसमा ५२ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा संलग्न बसका चालक बारा जिल्लाको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।