कास्की । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले पोखराका सम्पूर्ण ठाउँमा सिसीटिभी जडान गर्न सके अपराध न्यूनीकरण हुने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ भित्र विभिन्न स्थानमा जडान गरिएको सिसीटिभी क्यामेरा प्रहरी विटलाई हस्तान्तरण गर्ने कार्यक्रममा उहाँले पर्यटकीय राजधानी पोखरामा सबै ठाउँमा क्यामरा आवश्यक भएको उल्लेख गर्नुभएको हो ।
‘‘जतिपनि अपराध शहरभित्र हुने भएकाले सिसिटिभी जडान गरेको खण्डमा अपराध कम हुने र अपराध गरेमा त्यसमा संलग्नलाई पत्ता लगाउन सहज हुने थियो । स्थानीय निकायहरुले यसमा केही ध्यान दिएको भएता पनि पोखरा महानगरले सम्पूर्ण वडाहरुमा सिसिटिभी जडान गर्न सके थोरै संख्यामा रहेका प्रहरीले शान्ति सुरक्षा प्रदान गर्न सकिनेछ,’’ उहाँले भन्नुभयो ।
यसका लागि पोखरा महानगरका प्रमुखसमक्ष समेत आफुले पटकपटक आग्रह गरेको ओलियाले बताउनुभयो । पोखरामा चोरी, लागु औषध र सवारी दुर्घटनाको सङ्ख्या उल्लेख्य मात्रामा रहेकाले दुर्घटनाको अनुसन्धान गर्न समेत सिसिटीभीले सहायता पुग्ने र दुर्घटना न्यूनीकरणमा प्रविधिले सहयोग पुग्ने उहाँको भनाइ थियो ।