पर्वत– जिल्लाको कुश्मा नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन बनेका छन् । नगरपालिकाभित्र रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र तथा सहरी स्वास्थ्य केन्द्रमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका हुन् ।
नगरपालिकाले समयमा औषधि खरिद गर्न नसक्दा सर्वसाधारण सरकारले वितरण गर्ने ९८ किसिमका औषधि पाउनबाट वञ्चित बनेका हुन् । चालु आर्थिक वर्षका लागि औषधि खरिद गर्न नगरसभाबाट बजेट पारित भए पनि जनप्रतिनिधि र स्वास्थ्य सेवाका कर्मचारीको लापरबाहीका कारण आठ महिनासम्म औषधि खरिद हुन सकेको छैन ।
सर्वसाधारणलाई निःशुल्क वितरण गर्नुपर्ने औषधिको अभाव भएको चार महिना बितिसक्दा पनि खरिद गर्ने तयारी गरिएको छैन । औषधि खरिदका लागि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त सशर्त रकम रु १६ लाख र नगरपालिकाको निशर्त आठ लाख गरी २४ लाख बजेट छ ।
बजेट अभावले नभई खरिद प्रक्रिया ढिलो भएकाले औषधि अभाव भएको नगरपालिकाको स्वास्थ्य शाखाकी सिनियर अनमी दुर्गा सापकोटाले बताए। विगतका वर्षहरूमा पनि औषधि अभाव र म्याद नाघेका औषधि भेटिने गरेको थियो ।
कुश्मा नगरपालिकाभित्रका १४ वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा उपचारका लागि आउने नागरिकले रित्तो हात फर्किनु परेको बताउँछन् । सामान्य रोगदेखि जटिल र दीर्घरोगी समेत निःशुल्क औषधि पाइने आशमा स्वास्थ्य संस्थामा आउने गरेकामा सेवाग्राही रित्तो हात फर्काउनुपरेको कुश्मा–१२ ठूलीपोखरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण सुवेदीले जानकारी दिए।