फैलियो डढेलो

5.7k Shares

कावासोती । पूर्वी नवलपरासीका जङ्गलमा केही दिनदेखि लागेको डढेलो फैलन थालेको छ । शनिबारदेखि लागेको आगो जिल्लाका आठै पालिकामा रहेको वनजङ्गलमा डढेलोका रूपमा फैलिएको बुलिङटार गाउँपालिका–३ का वडाध्यक्ष विष्णुवीर जर्घामगरले बताउनुभयो ।

उहाँका अनुसनर पूर्वपश्चिम राजमार्गको दायाँबायाँ रहेको जङ्गलमा गैँडाकोटबाट दुम्कीबाससम्म र कालीगण्डकी कोरिडोरको आसपास बुलिङटार, बौदीकाली गाउँपालिकाको सयभन्दा बढी जङ्गलमा फैलिएको छ ।  

कालीगण्डकी कोरिडोरको भोक्रोफाँट, गडम्दी, कोटथर, डाडाँझेरी बुलिङटार हुँदै बौदीकालीका सबै जसो जङ्गलमा फैलिएको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका दुई सयभन्दा बढी जङ्गल क्षेत्रमा लागेको आगो नियन्त्रणमा आउन समय लाग्ने छ । 

पहाडी क्षेत्रमा फैलिएको आगलागीबाट कुनै मानवीय क्षति भने नभएको र अहिले त्यस क्षेत्रमा प्रहरीसमेत परिचालन गरी सम्भावित घटनाबाट बचाउन आवश्यक कार्य गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले वन कार्यालयसँग समन्वय गरेर जिल्लामा सम्भावित घटनाबाट बचाउन कामका लागि प्रहरीले तयारी गरिरहेको प्रहरी निरीक्षक साजनकुमार शर्माले बताउनुभयो । प्रभावित क्षेत्रका स्थानीयले समेत गस्ती गरी डढेलो गाउँबस्तीमा नपसोस् भनी काम गरिरहेका बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले बताउनुभयो । मध्यविन्दु नगरपालिका–१४, चनौटे र सुर्खागाउँमा आगलागी भएको छ । मध्यविन्दु–१४ को सुर्खा जङ्गलमा भएको आगलागीले १२ घरगोठ जलेर नष्ट भएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो । 

सम्बन्धित समाचार