चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

6.7k Shares

ढोरपाटन– बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी परेका छन् । एउटै विद्यालयका ५० बढी विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित भएको हो ।

बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ज्योति विकास माध्यमिक विद्यालय र सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी परेका हुन् ।

ज्योति विकास माध्यमिक विद्यालयका १८३ जना विद्यार्थीमध्ये करिब १०० विद्यार्थी मात्रै पढ्न आएको प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए विद्यालय आएका विद्यार्थीहरू पनि ज्वरो र रुघाखोकीबाट ग्रसित बनेको उनको भनाइ छ । बिहीबार रातिदेखि नै ढोरपाटनमा हिउँ परेको थियो । 

विद्यालयमा बालबालिकालाई न्यानो बनाउने कुनै पनि सामग्री नहुँदा चिसो सिरेटाका कारण विद्यार्थी बिरामी परेको प्रधानाध्यापक अदैले सुनाए । बालबालिका बिरामी हुन थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने स्थिति आउन सक्ने उनको भनाइ छ । 

चिसोका कारण गत पुस २० गतेदेखि बन्द भएको विद्यालय माघ २० गतेदेखि सञ्चालनमा आएको अदैले जानकारी दिए ।

सम्बन्धित समाचार