काठमाडौँ - अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच ह्वाइटहाउसको पत्रकार सम्मेलनमा भएको घोचपेचपूर्ण वार्तालापले संसारभरि बजार लिएको छ।
युद्धग्रस्त युक्रेन र तवाहीमा रहेका त्यहाँका नागरिकका तर्फबाट शान्ति र सहयोगको याचना लिएर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार अमेरिका पुगेका थिए।
अमेरिका र रुसको नजर सुरुदेखि नै युक्रेनको प्राकृतिक खनिजमाथि रहेको र सम्भवतः युद्धको प्रमुख कारण त्यो पनि हो भने बुझिन्छ। लगातार तीन वर्षको युद्धले सर्वस्व गुमाउने स्थितिमा रहेको युक्रेनमा मानवता र शान्ति चाहेका जेलेन्स्कीले युक्रेनको मूल्यवान् युरेनियम खनिज खानीभन्दा आफ्नो राष्ट्र र नागरिकको ज्यानलाई अमूल्य ठाने। र त देशलाई युद्धको मैदानबाट जोगाउनका लागि याचनासहितको सम्झौताका सर्त लिएर ह्वाइटहाउस पुगे।
तर जेलेन्स्कीसँग राष्ट्रपति ट्रम्पले बारम्बार गरेका घोचपेचपूर्ण प्रश्न, अशिष्ट व्यवहार र तिमी ह्वाइटहाउसबाट अहिल्यै निस्किहाल जस्ता अपमानजनक शब्द प्रयोग गरियो। यसरी विश्वले नियालिरहेको पत्रकार सम्मेलनमै ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले देखाएको त्यो व्यवहार आमनेसामने बसेका जेलेन्स्कीलाई मात्रै नभई संसारको जो कोही स्वाभिमानी व्यक्तिलाई पीडा दिने र उक्साउने खालको थियो। शक्ति राष्ट्र अमेरिकाको दम्भ र दोस्रो पटक जितको उन्मादमा रहेका राष्ट्रपति ट्रम्पले युक्रेनको घाउमाथि नुनचुक छर्कने गरी शब्दहरू बोलिरहेका थिए।
त्यसैबिच आफ्ना नागरिक र युक्रेनी आमाहरूको समेत प्रतिनिधित्व गरिरहेकी अमेरिकाका लागि युक्रेनी राजदूत ओक्साना मार्कोभाको आँसुले ह्वाइटहाउसको सुन्दर रङलाई बगाइरहेको थियो। उनीजस्ता लाखौं युक्रेनी आमा र युद्धको चिच्याहटमा निस्किने दर्दनाक आवाज एवं जिउँदै जलेका आत्माहरूले युद्ध चाहने ती सबै अघोषित मनलाई पक्कै सरापिरहेका होलान्।
दुनियाँले चाहेको शान्ति र युक्रेनप्रति देखाउनुपर्ने मानवताविपरीत आफ्नो देशका राष्ट्रपतिमार्फत युक्रेनी नागरिकप्रति ट्रम्पले गरेको निकृष्टतालाई ह्वाइटहाउसको पर्खाल नाघेर नदेखिने इतिहासका रूपमा विश्वले धिकारिरह्यो। एक सफल कूटनीतिज्ञ ओक्सानाले राष्ट्रको पीडामा सम्हाल्न नसकेको आँसुको अनुभूतिले करोडौं शब्दको सन्देश दिएको छ।
कतिले भन्छन्– राष्ट्रपतिमा जितेदेखि विश्वभरका धनाढ्यलाई अमेरिकन नागरिकता बिक्रीदेखि युएसआइडीजस्ता अन्तर्राष्ट्रिय निकायलाई दिँदै आएको अनुदान रोक्नेसम्मको निर्णय गरेर विश्वलाई एकपछि अर्का झट्का दिँदै विश्व बजार तताउँदै आए। जेलेन्स्कीले ट्रम्पलाई अहिले नै जवाफ दिइहाल्ने समय नआएको पनि सुझाव दिएका छन्। कतिले त आणविक शक्तिका रूपमा संसारकै शक्तिशाली भनिँदै आएका दुई ठुला राष्ट्र विश्व शान्ति र मानवताको सवालमा दिनदिनै अनुदार हुँदै आएकाले यी राष्ट्रलाई राष्ट्रपति जेलेन्स्कीले सही जवाफ दिएको पनि भनेका छन्।
यी सबैका बाबजुद रुस र युक्रेनबिचको युद्ध र यसै सन्दर्भलाई लिएर ह्वाइटहाउसमा शुक्रबार दुई राष्ट्रपतिबिच भएको अस्वाभाविक तथा गैरकूटनैतिक परिघटना भयो जुन नहुनुपर्ने थियो। उक्त वार्तालापलाई विश्वले अनेक कोणबाट विश्लेषण गरिरहँदा धेरैले राष्ट्रपति ट्रम्पको दम्भले विशाल राष्ट्र अमेरिका र रुसका अगाडि युक्रेनले संसारको नजरमा युद्ध जितिसकेको भनेका छन्। आजको नागरिक दैनिकबाट ललिता साहले लेख्नु भएको