धौलागिरि आयुर्वेद अस्पतालमा पूर्वाधार थपिँदै

7.3k Shares

बागलुङ । धौलागिरि आयुर्वेद अस्पताल बागलुङमा पूर्वाधार विस्तार गरिएको छ । गण्डकी प्रदेश सरकारले पाँच शय्याको धौलागिरि आयुर्वेद अस्पताललाई  २५ शय्यामा सुविधायुक्त अस्पतालका रूपमा स्तरवृद्धिको तयारी गरिरहेको छ ।

स्तरोन्नतिको निर्णयपछि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पतालमा मानव संसाधन, पूर्वाधार र उपकरणको प्रबन्ध व्यवस्थित गर्दैछ । प्रदेश सरकारले ४४ लाख रुपियाँ बजेट विनियोजन गरेपछि हाल पाँच शय्याबाट सेवा प्रवाह गरिरहेको अस्पतालमा स्तरवृद्वि गर्ने तयारी स्वरुप पूर्वाधार विस्तारको काम चलेको हो ।

पछिल्लो समय आयुर्वेद पद्धतिबाट उपचार गर्ने बिरामीहरुको सङ्ख्या बढ्दै गएको र अस्पतालको साँघुरो भवनबाट सेवा प्रवाह गर्न कठिनाइ भएपछि पूर्वाधार विस्तारको काम चलिरहेको अस्पतालका प्रमुख डा. शरद पन्थीले जानकारी दिनुभयो । अस्पतालले पूर्वाधार निर्माणका लागि भ्याटसहित ३१ लाख रुपियाँमा काम सम्पन्न गर्नेगरी बलेवा भैरव निर्माण सेवासँग ठेक्का सम्झौता गरी काम थालेको हो ।

अस्पतालको छतमा प्रि–फ्याब प्रविधिको पाँच कोठे र भुइँतलामा तीनकोठे संरचना निर्माणको काम चलिरहेको छ । दोस्रो तलमा निर्माणाधिन भवनमा हाल रहेको प्रशासनलाई स्थान्तरण गरिने छ भने प्रशासन रहेको तलाबाट अन्तर्गत सेवा प्रदान गरिने डा. पन्थीले बताउनुभयो । भुइँतलामा निर्माण गरिएको तीनकोठे संरचना भने चमेना गृह, फार्मेसी, चुर्ण औषधी उत्पादनका लागि प्रयोग गरिनेछ ।

सम्बन्धित समाचार