काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी १५६ वटा पम्प स्टोरेज आयोजनाहरूको पहिचान गरेको थियो ।
त्यसमध्ये, ४२ हजार मेगावाटका ३३ वटा आयोजनाहरू छनोट र स्तरीकरण गरिएको छ । रुकुम (पश्चिम)स्थित स्यार्पु तालमा ३३२ मेगावाटको पम्प स्टोरेज आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिई सम्भाव्यता अध्ययन भइरहेको छ ।
६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाले पनि २०० मेगावाटको पम्प स्टोरेज आयोजनाको अध्ययन गरिरहेको छ ।
काठमाडौं उपत्यकाका एवम् विद्युत् भार केन्द्र नजिकै, पहुँच सडक, प्रसारण लाइनलगायतका सम्पूर्ण पूर्वाधारको सुगमता रहेको धादिङको बेनिघाट रोराङ र चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने हुग्दी र मोवा खोलामा करिब १५९६ मेगावाटको हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । आयोजना विकास विभागले हाल आयोजनाको डेक्स अध्ययन गरिरहेको छ ।