काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भएको बहुप्रतीक्षित भेटघाट अपेक्षा गरिएभन्दा ठीक उल्टो परिणामसहित समाप्त भएको छ। यो बैठकमा युक्रेनको दुर्लभ पृथ्वी खनिजमा अमेरिकी पहुँच प्रदान गर्ने ५ खर्ब डलर बराबरको सम्झौता र रूस–युक्रेन युद्धको समाधानबारे छलफल हुने अपेक्षा थियो। तर, बैठक सुरु भएको केही मिनेटमै तनावपूर्ण बहसमा परिणत भयो। कुनै सम्झौताबिना नै जेलेन्स्की ह्वाइट हाउसबाट बाहिरिए। यो घटनाले विश्व राजनीतिमा ठूलो तरंग ल्याएको छ।
पृष्ठभूमि
यो भेटघाटको पृष्ठभूमि निकै जटिल थियो। सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अझै जारी छ। अमेरिकाले युक्रेनलाई ३५० अर्ब डलरभन्दा बढी आर्थिक र सैन्य सहयोग प्रदान गरेको दाबी गर्दै आएको छ। अमेरिकाको सैन्य र आर्थिक सहयोगले युद्धलाई लम्ब्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएसँगै युद्धलाई चाँडै अन्त्य गर्ने र रूससँग शान्ति सम्झौता गर्ने वाचा गरेका थिए।
अर्कोतर्फ, जेलेन्स्कीले रूससँग कुनै पनि सम्झौता गर्नुअघि युक्रेनको क्षेत्रीय अखण्डता र सुरक्षाको ग्यारेन्टी माग्दै आएका छन्। यसैबीच, युक्रेनसँग रहेको दुर्लभ खनिज (लिथियम, कोबाल्ट र निकेल) मा अमेरिकी कम्पनीहरूको रुचि बढ्दो छ। यो सम्झौताले अमेरिकालाई चिनियाँ खनिज आपूर्तिमा निर्भरता घटाउने अवसर दिन्थ्यो। तर, यी दुई मुद्दा बैठकको क्रममा विवादको केन्द्र बने।
विवादको सुरुवात
बैठक सुरु भएको केही मिनेटमै ट्रम्पले जेलेन्स्कीलाई आक्रामक रूपमा प्रश्न गरे, ‘तपाईंको मनोवृत्ति सम्झौताको होइन। युक्रेनले रूससँग युद्ध जित्न सक्दैन, तपाईं यो कुरा किन बुझ्नुहुन्न?’ ट्रम्पले जेलेन्स्कीको अडानलाई हठी भन्दै उनको नेतृत्वमाथि नै प्रश्न उठाए। उनले थपे, ‘यदि मैले आफूलाई रूस र युक्रेनबीचमा राखिनँ भने तपाईं कहिल्यै सम्झौतामा पुग्नुहुन्न। तपाईं भ्लादिमिर पुटिनलाई घृणा गर्नुहुन्छ, अर्को पक्षलाई पनि केही मन पर्दैन। तपाईं मलाई कठोर बनाउन चाहनुहुन्छ, म संसारको जुनसुकै व्यक्तिभन्दा कडा हुन सक्छु तर त्यसरी सम्झौता हुँदैन।’ जेलेन्स्कीले जवाफमा ट्रम्पको रूसप्रति नरम नीति भएको संकेत गर्दै भने, ‘हामी पुटिनसँग कुनै सम्झौता गर्न सक्दैनौं जसले युक्रेनको स्वतन्त्रता र भविष्यलाई जोखिममा पार्छ। हामीलाई शान्ति चाहिएको छ, तर आत्मसमर्पण होइन।’ यो बयानले ट्रम्पलाई थप उत्तेजित बनायो।
भान्सको हस्तक्षेप
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि जेलेन्स्कीलाई अपमानजनक व्यक्ति भन्दै विवादमा मलजल गरे। जेलेन्स्कीले भान्सलाई सोधे, ‘तपाईं कस्तो कूटनीतिको कुरा गर्दै हुनुहुन्छ?’ भान्सले जवाफ थियो, ‘म त्यस्तो कूटनीतिको कुरा गर्दै छु जसले तपाईंको देशमा भइरहेको विनाश रोक्न सक्छ। तर तपाईं यहाँ आएर हामीलाई धन्यवादसम्म दिनुहुन्न।’ भान्सले थप सोधे, ‘के तपाईंले बैठकमा एकपटक पनि हामीलाई धन्यवाद भन्नुभयो?’ जेलेन्स्कीले शान्त स्वरमा जवाफ दिए, ‘मैले धेरै पटक धन्यवाद भनेको छु। अमेरिकी जनता र सरकारको सहयोगबिना हामी यहाँसम्म आउन पनि सक्दैनथ्यौं।’
तर, ट्रम्पले जेलेन्स्कीको यो जवाफलाई नाटक भन्दै खारेज गरे। उनले भने, ‘युक्रेन ठूलो समस्यामा छ। तपाईं यो युद्ध जित्न सक्नुहुन्न। हामीले तपाईंलाई ३५० अर्ब डलर र अत्याधुनिक सैन्य उपकरण दिएका छौं। यदि हामीले सहयोग नदिएको भए, यो युद्ध दुई हप्तामा सकिन्थ्यो। तर तपाईंको मनसाय युद्धविरामको होइन, तपाईं तेस्रो विश्वयुद्धको जुवा खेल्दै हुनुहुन्छ।’ जेलेन्स्कीले जवाफमा अमेरिकी समर्थनको महत्त्व स्वीकार्दै भने, ‘हामी ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौं। हामीलाई थप हतियार होइन, सुरक्षाको प्रत्याभूति चाहिएको छ।’
खनिज सम्झौता
बैठकको अर्को प्रमुख उद्देश्य युक्रेनको खनिज स्रोतमा अमेरिकी पहुँच प्रदान गर्नु पनि थियो। यो सम्झौताले युक्रेनको युद्ध प्रभावित अर्थतन्त्रलाई बलियो बनाउन र अमेरिकाको ऊर्जा तथा प्रविधि क्षेत्रलाई फाइदा पुर्याउन सक्ने आंकलन भइरहेको थियो। तर, जेलेन्स्कीले ट्रम्पको प्रस्तावलाई एकतर्फी भन्दै अस्वीकार गरे। स्रोतका अनुसार जेलेन्स्कीले खनिज सम्झौताको बदलामा युक्रेनको पूर्वी क्षेत्रमा रूसी नियन्त्रण स्वीकार गर्नुपर्ने सर्त राखिएको आरोप लगाए। ट्रम्पले भने यो आरोपको खण्डन गरे, ‘हामीले युक्रेनलाई आर्थिक जीवनरेखा दिन खोजेका हौं, तर तपाईंले यो मौका गुमाउनुभयो।’ आजको नागरिक दैनिकबाट