गुलरिया (बर्दिया) । जापान सरकारको सहयोगमा २०४५ सालमा स्थापना भएको राजापुर आधुनिक चामल कारखानामा रहेको उसिना चामल उत्पादन गर्ने प्लान्ट अलपत्र परेको छ ।
विगत्को द्वन्द्वकालमा क्षतिग्रस्त भएको प्लान्टलाई सरकारले बेवास्ता गर्दा अलपत्र परेको हो । देशमै पहिलो पटक स्थापना भएको उसिना चामल उत्पादन गर्ने प्लान्ट २०५९ सालसम्म सञ्चालनमा रहेको थियो । उत्पादन भएको उसिना चामल देशका विभिन्न स्थानलगायत विदेश समेत निर्यात हुन्थ्यो ।
विशेषगरी सुगर रोगबाट बच्न वा सुगर रोग लागेकाहरुले उसिना चामलको प्रयोग गर्नु उपयुक्त मानिन्छ । नेपालमा सुगर रोगी संंख्या बढेसँगै उसिना चामलको माग समेत बढ्दै गएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उसिना चामल मिल सञ्चालनमा आउन सकेको छैन ।
मिल सञ्चालनका लागि पटक–पटक संघ र प्रदेश स्तरका भ्रमण नभएका भने होइनन् तर पनि हालसम्म मिल सञ्चालनका लागि विस्तृत योजना बनेको छैन । २०५९ सालमा बम विस्फोटपछि क्षतिग्रस्त भएको मिल २०६४ सालमा कम्पनीले मर्मतगरी साधारण मिल सञ्चालनमा ल्यायो ।
उसिना चामल मिल सञ्चालनमा नआउँदा त्यसका सामग्रीहरू झन् क्षतिग्रस्त भएका छन् । मर्मत गरेर सञ्चालनमा ल्याउन सक्ने मेसिनहरू समेत विग्रन थालेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका प्रमुख कमलराज पाण्डेले बताउनुभयो ।