बागलुङ । चौथो लखन कप भलिबलको उपाधि ए एण्ड ए मार्ट नरेठाँटी गलकोटले जितेको छ । मगर एकता दिवसको दिन बिहीबार सम्पन्न फाइनल खेलमा पकुवा भलिबल कुश्मा पर्वतलाई सोझो सेटमा पराजित गर्दै ए एण्ड ए नरेठाँटी गलकोटले उपाधि जितेको हो ।
पहिलो सेट २५–२२ ले जिते पनि दोस्रो सेटमा पकुवा भलिबल कुश्मालाई पराजित गर्न नरेठाँटीले निकै संघर्ष गर्नुपर्छ । दोस्रो सेट २६–२४ ले जितेको नरेठाँटीलाई तेस्रो सेटको खेलमा भने रेफ्रीको निर्णय विवास्पद बन्दा फाइदा पुग्यो । तेस्रो सेटमा रेफ्रीको निर्णयप्रति असहमति जनाउँदै पकुवाले २१–१९ को स्थितिमा वाकओभर दिएपछि नरेठाँटीले लखन कपको उपाधि पक्का गरेको हो ।
विजेता नरेठाँटीले नगद ८१ हजार १ सय ८१ रुपियाँ र द्वितीय पकुवा भलिबल कुश्माले नगद ४१ हजार १ सय ४१ रुपियाँ पुरस्कार, लखन कप र मेडल प्राप्त गरेका छन् । प्रतियोगितामा १६ टिमले भाग लिएका थिए । विगत चार वर्षदेखि नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति बागलुङले लखन कप गर्दैआएको छ । प्रतियोगिताका लागि ४ लाख रुपियाँ खर्च भएको आयोजकले जनाएको छ ।