शेयर बजार ६ महिनापछि २८ सय विन्दुमाथि

11.2k Shares

काठमाण्डाै – मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि आज शेयर बजार उच्च अङ्कले बढेको छ । गएको मङ्गलवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै बैंकहरूको नाफा बढ्ने गरी असल कर्जाको प्रावधान दर १ प्रतिशतमा झारेपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको हो ।

आज शेयर बजार परिसूचक नेप्से ४९ दशमलव १५ अङ्कले बढेर २ हजार ८ सय १५ दशमलव ०४ विन्दुमा पुगेको छ । नेप्से आज ६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको भदौ १८ गते नेप्से २ हजार ८ सय ३० विन्दुमा पुगेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा बैंक समूह ३ प्रतिशतभन्दा धेरै र उत्पादन समूह झन्डै ३ प्रतिशतले उकालो लागेको छ ।

आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, अपर हेवा खोला जलविद्युत्, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

सम्बन्धित समाचार