तुलसीपुर । दाङ उपत्यकामा कालोपत्रे सडकमा हिँड्नका लागि घोराही तुलसीपुर सडकखण्ड मात्रै थियो। त्यसबाहेक गाउँका सडक हिउँद् याममा धुलाम्य त वर्षायाममा हिलाम्य हुन्थे ।
अहिले गाउँका सडक कालोपेत्र मात्रै भएका छैनन् घोराही तुलसीपुर सडकखण्डभन्दा फराकिला र व्यवस्थित छन् । त्यति मात्रै होइन कुनै समयमा हिलाम्य र धुलाम्य हुने ती सडकमा तस्बीर खिचाउनेको ताँती नै लाग्दछ ।
घोराही तुलसीपुर रक्षाचौर आँखा अस्पताल सडक खण्डको साविक हापुर गाविस क्षेत्रमा भाइरल सडकका नाममा तस्बिर खिच्नेको ताँती लाग्छ । संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारले सडक कालोपत्रेलाई प्राथमिकतामा राखी प्रत्येक वर्ष बजेट, कार्यक्रम कार्यान्वयन गर्दै आएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले दुई वर्षको अवधिमा २० वटा सडकमा करिब १८ किलोमिटर सडक कालोपत्रे गरेको छ। गाउँ गाउँका बाटो कालोपत्रे भएका छन् भने त्यही सडक भएर आवतजावत गर्ने किसान, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणलाई निकै सहज भएको छ । विद्यालयका गाडीहरु समेत सञ्चालनमा सहज भएको छ । सडक कालोपत्रे भएपछि आवतजावत गर्न सहज भएको तुलसीपुर उपमहानगरपालिका ११ का ७५ वर्षिय टेकराज शर्माले बताउनुभयो ।