काठमाडौँ । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो ।
दर्शनार्थी एवम् भक्तजनका सवारी साधनहरूको पार्किङ तीलगंगा आँखा अस्पताल अगाडी, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ भने बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरु पार्किङ हुनेछन् । त्यसैगरि कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरुलाई पार्किङ व्यवस्था मिलाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनहरु छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ । धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवत जावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको छ ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरि सहज आवागमनको व्यबस्थापन गर्नेछ त्यसका लागी करिडोर सडक र भित्री सडकहरुमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाएको ट्राफिक प्रहरी प्रमुख घिमिरेले बताए ।