नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खानका छोरा जुनैद खान बलिउडमा आफूलाई साबित गर्ने कोसिसमा छन् । हालै श्रीदेवीकी कान्छी छोरी खुसी कपूरको साथमा जुनैदको ‘लवयापा’ रिलिज भएको थियो ।
कथा रोचक भए पनि फिल्मले बक्स अफिसमा खासै कमाल देखाउन सकेन । छोराको यो फिल्म फ्लप होला भन्ने आमिरले कल्पनै गरेका थिएनन् । फिल्म फ्लप भएपछि अभिनेताले आफू दुःखी भएको बताएका छन् ।
उनले भने, ‘दुर्भाग्यवश त्यो फिल्मले राम्रो व्यापार गर्न सकेन । मलाई पनि यसको निकै दुःख लागेको छ ।’ आमिरले फिल्म र जुनैदको अभिनय दुवै प्रशंसनीय भएकोमा जोड दिएका थिए । आमिरलाई आफ्ना आगामी प्रोजेक्टको भन्दा धेरै चिन्ता लवयापाको थियो ।
‘झ्यालबाट बाहिर हेर्दा पनि आफू निकै नर्भस महसुस भइरहेको, मुटु छिटो धड्किरहेको थियो’ फिल्म रिलिज हुनुभन्दा अघिका दिनहरू सम्झँदै आमिरले भनेका थिए । एबीपी न्यूजले जुनैदका भावी प्रोजेक्टबारे सोध्दा आमिरले उनले आमिर खान प्रोडक्सन अन्तर्गत अर्को फिल्म पूरा गरेको आमिरले बताए ।
वर्षको अन्त्यमा रिलिज हुने भनिएको यो फिल्ममा साई पल्लवीसँग जुनैदको जोडी छ । आमिरले यसलाई राम्रो प्रेमकथाको रूपमा वर्णन गरेका छन् ।