वालिङ (स्याङ्जा) । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु. ६० लाखको सुन्तला बिक्री गर्नुभएको छ ।
व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आउनुभएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा धेरै आम्दानी गर्ने कृषकसमेत हुनुहुन्छ । अर्यालले यस वर्ष ७५ मेट्रिकटन सुन्तला बिक्री गर्नुभएको हो । ‘त्रिपुत्र बागवानी कृषि फार्म’ दर्तागरी सञ्चालन गर्नुभएका अर्यालले ग्रेडिङ मेसिनमार्फत ग्रेडिङ गरी सुन्तला बिक्री गर्दै आउनुभएको छ ।
यस वर्ष न्यूनतम रु. ७० देखि अधिकतम रु. एक सय २० प्रतिकिलोका दरले सुन्तला बिक्री गरी रु ६० लाख आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । “यहाँ उत्पादन भएको सुन्तला काठमाडौँस्थित भाटभटेनी सुपरमार्केट, कालीमाटी तरकारी तथा फलफूल केन्द्र, बल्खु, नारायणगढलगायत बजारमा बिक्री गरेको हुँ”, उहाँले भन्नुभयो, “बर्सेनि सम्झौता भई बजारीकरण हुँदै आएकाले बिक्रीका लागि कुनै समस्या भएको छैन, अहिलेसम्म सहज नै छ ।”
गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए तापनि बजार मूल्य भने गत वर्षभन्दा कम परेको उहाँले बताउनुभयो । गत वर्षजस्तो यस वर्ष स्याङ्जाको सुन्तलाको गुणस्तर राम्रो नभएकाले मूल्य कम परेको हो । गत वर्षको तुलनामा यस वर्ष झण्डै १० मेट्रिकटन सुन्तला उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा गत वर्षको र यस वर्षको आम्दानी समान रु. ६० लाख हुन पुगेको उहाँ बताउनुहुन्छ ।