पोखरा– पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको पोखरामा फागुन १५ देखि १८ गतेसम्म हुने १२औँ संस्करणको नेपाल साहित्यिक महोत्सवले पर्यटकीय नगरीमा अर्को रौनकता थप्दै छ ।
बुकवर्म फाउन्डेसनद्वारा आयोजित महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलालाई साक्षी राखेर देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले विचार मन्थन गर्दैछन् । महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि मन्थन हुँदैछ ।
पर्यटकीय राजधानी पोखरालाई पर्यटकको उत्कृष्ट गन्तव्य बनाउन फागुन ३ गते मात्र पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गरेको थियो । करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भएको घोषणालाई सार्थक बनाउन पनि पोखराले कुनै न कुनै गतिविधि गरेर पर्यटकलाई भित्र्याउनुपर्ने अवस्थामा यो महोत्सवले पनि पर्यटन प्रवर्द्धनमा थप भूमिका खेल्ने विश्वास व्यवसायीको छ ।