काठमाडौं । वर्ष २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । यो वर्ष एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुँदै छन् । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट एकसाथ परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यो वर्ष एसईईको नतिजामा लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थीको ग्रेडिङ हुनेछ ।
नयाँ निर्देशिकाअनुसार यसरी छुट्याइन्छ ग्रेड र जीपीए
लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थाीको प्राप्तांक प्रतिशतका आधारमा आठवटा स्तरीकृत अंक (जीपीए) र अइर ग्रेड (लेटर ग्रेड) छुट्याइएको छ ।
विषयगत रूपमा सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त छुट्टाछुट्टै अंकलाई अक्षर ग्रेड (लेटर ग्रेड)मा रूपान्तरण गरिनेछ ।
जसमध्ये सैद्धान्तिक र आन्तरिक दुवैतर्फ ९० र सोभन्दा माथि प्रतिशत प्राप्त गर्नेलाई ४.० जीपीए दिइनेछ । ४.० जीपीए ल्याउने विद्यार्थीको ग्रेडिङ ‘ए प्लस’ हुनेछ, यसलाई सर्वोत्कृष्ट उपलब्धि मानिएको छ ।