- डी.बी.नेपाली
राजतन्त्र मासियाे
देशमा प्रजातन्त्र, लाेकतन्त्र ।
संघीय गणतन्त्र आयाे
देशमा अग्रगमन विकास भयाे ।।
गाँउगाँउमा सडक पुग्याे
सडकसंगै चाउचाउ पुग्याे ।
रक्सी, खैनी र सुर्ती पुग्याे
देशमा अग्रगमन विकास भयाे ।।
राजधानीमा मात्रै थन्किएकाे
सिंहदरबार गाँउगाँउमा पुग्याे ।
हजाराैं हजार नव राजाहरु पैदा भए
देशमा अग्रगमन विकास भयाे ।।
राजतन्त्रले स्थापना गरेका
उद्याेगहरु र नदिनालाकाे काल आयाे ।
राष्ट्रमा संघीय गणतन्त्र आयाे
देशमा अग्रगमन विकास भयाे ।।
गाडी,चाउचाउ,रक्सी सुर्ती खैनी
सिंहदरबारसंगै पुग्याे गाँउगाँउमा ।
तर गाँउका युवाहरु पुगे खाडी र मलेसियामा
देशमा अग्रगमन विकास भयाे ।।
लेन्डुब दाेर्जेहरु मुक्तिकाे मुखण्डाे ओडी
ब्यापारी र बाहिय शक्त्तिकाे दलाली गर्दै तस्कर,
कमिशनखाेर र लुटेराहरुकाे
देशमा अग्रगमन विकास भयाे ।।
देशमा राजतन्त्र हुँदा खाेसिएकाे
वाक स्वतन्त्रता राजा रंक सबैले पाए तर,
वाक शब्द रुपान्त्रित भएर वक ( गाली गर) स्वतन्त्रता भएछ
देशमा वक स्वतन्त्रताकाे विकास भयाे ।।
देशमा संघीय गणतन्त्र आयाे
कागजमा जनताले हक अधिकार पायाे ।
ठुलालाई चैन र गरिबलाई ऐन आयाे
देशमा अग्रगमन विकास भयाे ।।
कुना कन्दरामा 4G सेवा पुग्याे
अश्लिलता र छाडा गाली पनि पुग्याे
युवतीहरु नाङ्गिएर ढल्न थाले ।
देशमा अग्रगमन विकास भयाे ।।
वाइटबडी,ओैषधी र सहकारी
पैसा फलाउने रुख भए ।
सरकारी जग्गा बाटाेमा बेचिन थाल्याे
देशमा अग्रगमन विकास भयाे ।।
देशमा संघीय गणतन्त्र स्थापना भयाे
संसदीय व्यवस्था लागु भयाे ।
खसीकाे टाउकाे झुण्ड्याइ कुकुरकाे मासु बिक्याे
देशमा अग्रगमन विकास भयाे ।।